साउन २६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लालाई राजनीतिक थलो बनाउने भएसँगै विभिन्न खालका चर्चा सुरु भएको छ । एकातिर सत्तारुढ गठबन्धन, अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी रणनीति बनाउन व्यस्त रहेकै समयमा शाहीले उम्मेदवारी घोषणामात्र गरेका छैनन्, आफूले ल्याउने मतको भविष्यवाणीसमेत गरिसकेका छन् ।
जिल्लाबाट राष्ट्रियस्तरको नेता नहुँदा जिल्लाका मुद्दाहरु सम्बोधन हुन नसकेको उनले बताए । ‘एक जना मन्त्रीले भेट्न दिएन भन्दै संसदमा रुने व्यक्ति अब जिल्लाको मागमा पर्ने छैन,’ उनले भने, ‘जुम्लाबाट केन्द्रीयस्तरको राजनीतिमा कुनै नेता छैनन् । जो जति छन्, उनीहरु मन्त्रीसम्मको पहुँचमा पुग्न सक्दैनन् । त्यसैले अहिले जिल्लाका वास्तविक मुद्दा ओझेलमा परेका छन् ।’
उनले जुम्लामा अहिले ७४ हजार मतदाता रहेको र त्यसमध्ये प्रदेशसभा क्षेत्र नम्बर (क) बाट आफूलाई १४ हजार ५०८ र क्षेत्र नम्बर (ख) बाट १७ हजार ३६० मत आउने बताए ।
उनले जिल्लामा ६० प्रतिशतमात्र मत खसे पनि ४५ हजार ८८० जनाले भोट हाल्ने र त्यसमध्ये आफूलाई ३१ हजार ८६८ भोट आउने दाबी गरे । संघको चुनावमा आफूभन्दा योग्य तथा मतदाताले रुचाएको, राष्ट्रिय राजनीतिमा छवि बनाएको नेता उम्मेदवार भए आफूले अहिले नै उसलाई निर्वाचनका लागि ठाउँ छोड्ने उनको भनाइ छ ।
तर, जिल्लामा अहिलेसम्म राष्ट्रिय राजनीतिमा राम्रो स्थान बनाएको नेता नहुँदा आफू नै अघि सरेको उनले बताए । आफूले चुनाव ताका गरेको बाचालाई पूरा गर्न नसके आफूसँगै चुनाव लडेर दोस्रो भएको व्यक्तिलाई पाँच वर्षपछि आफूले नै भोट हाल्ने शाहीले बताए ।
शाहीले जिल्लाका नेताहरुले अहिले आफूसँग भएको क्षमता अनुसार काम गरेको बताए । एउटा टेम्पु चालकले टेम्पु चलाउनमात्र सक्ने र उसको क्षमता पनि त्यही हुने उनको भनाइ छ । जिल्लाका नेताहरुको क्षमताले जुम्लाको विकास हुन नसकेकाले आफूलाई राजनीतिमा होमिन बाध्य बनाएको उनले बताए ।
२०७४ सालको निर्वाचनमा यस्तो थियो नतिजा
जुम्लाबाट संघीय चुनावमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले २२ हजार १७३ मत लाएर चुनाव जितेका थिए । दोस्रो भएका नेपाली काँग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत ल्याएका थिए ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले २ हजार ७१८ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का विन बुढाले ३८०, तत्कालीन संघीय समाजवादी फोरमले १५९ मत ल्याउँदा स्वतन्त्र उठेका हरिहर चौलागाईले १५२ मत ल्याएका थिए ।
प्रदेशसभा चुनावमा भने क्षेत्र नम्बर (क) बाट वाम गठबन्धनका तर्फबाट नरेश भण्डारीले १२ हजार ५७४ मत ल्याएर निर्वाचन जितेका थिए ।
त्यस्तै दोस्रो भएका नेपाली काँग्रेसका राजुसिंह कठायतले ८ हजार ५३७ मत ल्याएका थिए भने तेस्रो भएका मजदुर किसान पार्टीका शिवलाल डाँगीले एक हजार २८ मत ल्याएका थिए ।
क्षेत्र नम्बर (ख) मा वाम गठबन्धनको तर्फबाट पदमबहादुर रोकायाले १० हजार ४५८ मत ल्याएर चुनाव जितेका थिए भने काँग्रेसका भीमनिधि हमालले ५ हजार २८० मत ल्याएर दोस्रो भएका थिए ।