काँग्रेसले भन्यो : अर्थतन्त्र बिग्रिएको छैन, भ्रम छर्ने काम भयो

  • प्रकाशित मिति : April 12, 2022
  • कान्तिपुर सञ्चार

नेपाली काँग्रेसले ‘घर घर जाऔं, नेपाली काँग्रेस जिताऔँ’ अभियानमार्फत पार्टी संगठनको पहुँच व्यापक विस्तार भएको बताएको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता प्रकाशशरण महतले पार्टीको आठ वटै संरचना व्यापक रुपमा परिचालन भएको बताए ।

काँग्रेसले फागुन २९ गतेदेखि सुरु भएको काँग्रेसको एक महिने चुनावी अभियानमा चैत २९ गते आज सकिएको हो । आठ उद्देश्य राखेर सुरु गरिएको एक महिने अभियानले फलदायी भएको प्रवक्ता महतले बताए ।

उनले भने, ‘काँग्रेसले संगठन विस्तार, आन्तरिक एकता, कार्यकर्तालाई जिम्मेवारी, काँग्रेसले गरेका कामको प्रचार, ओली सरकारले गरेका काण्डको भण्डाफोर, खोप अभियान, एमसीसीको प्रस्टीकारण लगायत ८ वटै उद्देश्य प्राप्त गर्न हामी सफल भएका छौं ।’

यस्तै अभियानका क्रममा एमाले मत नदिन काँग्रेसले जनतामाझ आग्रह गरेको उनको भनाइ छ । उनले भने, ‘फेरि एमालेलाई मत दिएर समृद्धि र रुपान्तरण हुने आकांक्षा जनता छैनन् । ओलीजीको नेतृत्वमा बनेको सरकारले कोभिडकालमा ठूलो घोटाला गरेको थियो। ओलीले पाँच वर्षमा काम गरेनन्, गफमात्रै गरे। महामारीमा पनि फाइदा लिन खोजेको थियो।’

अहिले एमालेले अर्थतन्त्र विर्गियो भनेर भ्रम छर्ने काम गरेको महतको भनाइ छ । उनले भने, ‘अर्थतन्त्र बिग्रिएको छैन । भ्रम छर्ने काम भएको छ।’ यस्तै उनले आसन्न स्थानीय तह निर्वाचनको तालमेल हुने ठाउँबारे चाडै जानकारी गराउने उनले बताए । ‘तालमेलको निर्णय हाम्रो विधान दिएको अधिकार अनुसार विभिन्न तहबाट हुने छ । कतिपय साथीहरुलाई भ्रम परेको छ। केन्द्रले नै यसो भनिदिने हो कि भन्ने भएको छ, उनले भने, ‘गठबन्धन स्थानीय आवश्यकता अनुसार नै हुन्छ।’