यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरू धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् । कतिपय उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् ।
भोट माग्न खेतमा पुगेका उम्मेदवारलाई समय नमिलाएर निर्वाचन तोकेको भन्दै कतिपयले गालीसमेत गर्ने गरेका छन् । कतिपयले समयमा मल नपाएको गुनासो उम्मेदवारलाई गर्ने गरेका छन् । चितवनको मध्य र पश्चिम क्षेत्रमा धान थन्क्याउने चटारो छ भने पूर्वी क्षेत्रमा धानपछिको बाली र तरकारी लगाउन किसान व्यस्त छन् ।
गाउँका स्थानीय नेतासमेत किसान हुने भएकाले चुनावी प्रचारप्रसार र घरदैलो समेत प्रभावित हुने गरेको छ । यस अघिका निर्वाचनमा ठूलो सङ्ख्यामा उपस्थिति देखिने गरेको भए पनि यतिबेला कम मात्रै मानिसको उपस्थिति रहने गरेको छ । ढकालले भने, “यो त धान थन्क्याउने र बाली लगाउने बेला हो, किसानका लागि उपयुक्त समय होइन ।” केही अघि वा पछि गरिदिएको भए सजिलो हुने उनको सुझाव छ ।
माडी नगरपालिका–७ का नारायणप्रसाद काफ्ले यो खेती थन्क्याउने र लगाउने समय भएकाले निर्वाचनका बारेमा सोच्न नभ्याएको बताउँछन् । किसानहरु आफ्नै कामको माचोका कारण चुनावी कार्यक्रममा निस्किन नभ्याएको उनको भनाइ छ । काफ्लेले भने, “थान थन्क्याउन र तोरी लगाउने चटारो छ, दुई चार दिन अझै चुनावबारे सोच्ने फुर्सद छैन ।”
पूर्वी चितवनमा यतिबेला किसान तोरी र तरकारी लगाउन बढी व्यस्त छन् । भोट माग्न पुगेका उम्मेदवारलाई उनीहरुले समयमा मल नपाएको भन्दै गुनासो गर्ने गरेका छन् । आउँदो वर्षबाट मलको अभाव नहुने गरी काम गर्न उनीहरुले सुझाव दिने गरेका छन् । घरदैलो अभियानमा कतिपयले मल नपाएको भन्दै आक्रोशित हुने गरेको स्थानीय पत्रकार होमनाथ सापकोटाले जानकारी दिए।
मतदाता घरमा नभेटिएपछि उम्मेदवारलाई पनि निकै कठिन हुने गरेको छ । केही दिनअघि भरतपुरमा पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा भोजराज अधिकारीले किसान घरमा नभेटिँदा घरदैलो अभियानमा उपस्थिति सोचे जस्तो नभएको गुनासो गरे ।