कात्तिक १८, काठमाडौं ।
काठमाडौंको कीर्तिपुरमा २९ तोला सुन र एक लाख ५० हजार रुपैयाँ डकैती भएको घटनाका मुख्य आरोपी पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
गत साउन २४ गते बिहान ३ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ४ चम्पादेवीस्थित एक घरमा अज्ञात समूहले डकैती गरेका थिए।
हतियारसहित पसेर उनीहरूले २९ तोला सुनका गरगहना र साढे एक लाख नगद चोरी गरी फरार भएका थिए। उक्त घटनामा संलग्न मुख्य आरोपीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको हो।
यस घटनाका मुख्य योजनाकार काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मसिने घर भई काठमाडौं महानगपालिका वडा नम्बर १५ स्वयम्भू बस्ने ४९ वर्षीय प्रेम भन्ने सानुकान्छा तामाङ हुन्।
उनलाई काठमाडौं जिल्ला अदालतको बिहीबारको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनलाई केन्द्रीय कार्यालय जगन्नाथ देवलमा राखिएको छ।
यस घटनामा संलग्न चार जना यसअघि नै पक्राउ परिसकेका थिए। उनीहरू असोज ३० गते नै पुर्पक्षका लागि थुनामा पठाइकेका छन्। तर प्रेम भने घटना भएयता फरार रहेका थिए।
घरको ढोका फोडेर भित्र पसेका उनीहरूले नगद र गहना लगेका थिए। खुकुरी देखाएर उनीहरूले २९ तोलाका गरगहना लुटेर भागेका थिए। लुटपाट गर्नुअघि उनीहरूले घरको रेकी गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको थियो।
उनीहरूले कहिले आफूहरू प्रहरी, सशस्त्र प्रहरी हो भनेर घर प्रवेश गरेर खानतलासी लिन्थे त कहिले घरको टिभी बिग्रिएको छ भने त्यसभित्र बहुमूल्य चिज हुने भन्दै प्रवेश गर्थे। त्यसरी घर भित्रका कोठा, ढोकालगायत के-कस्तो छ भन्ने समेत जानकारी लिने गर्थे। कीर्तिपुरको घटनामा पनि पीडित बस्नेतको बारीमा रहेको मकै भाँचिदिने भन्दै उनीहरू पुगेका थिए।