बिहीबार नेपालस्थित चिनियाँ राजदूतावासले भर्चुअल पत्रकार सम्मेलन गर्यो। उक्त सम्मेलनमा राजदूत होउ यान्छी नेपाल–चीन सम्बन्धका विविध आयामबारे ब्रिफिङ गरिन्।
केही समयअघि भएको चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणदेखि तातोपानी र रसुवागढी नाका राम्ररी सञ्चालन हुन नसकेको र नेपाली मेडिकल विद्यार्थी चीन फर्कन नसकेकोलगायत विषय उनको ब्रिफिङमा समावेश थियो।
राजदूत यान्छीले सीमापार सम्पर्क सञ्जालका विषयमा पनि कुरा उठाइन्।
चीनको केरूङ हुँदै काठमाडौं रेल ल्याउन प्राविधिक अध्ययन गर्न चीनले सहयोग गर्ने सहमति विदेश मन्त्री यीको भ्रमणका क्रममा भएको थियो।
राजदूत यान्छीले भने तत्कालै रेलमार्ग बनाउन सम्भव नभएको बताइन्।
‘मलाई केही विज्ञहरूले सबै कुरा एकदम सहज तरिकाले भए सीमापार रेलवेको विस्तृत सम्भाव्यता सक्न ५–६ वर्ष लाग्छ भनेका छन्,’ राजदूत यान्छीले भनिन्,‘यो क्षेत्रको भूबनावट पनि निकै जटिल छ। सँगैसँगै हामीले त्यहाँको वातावरणीय प्रभाव पनि हेर्नुपर्ने हुन्छ।’
रेलवे बनाउन दुबै देशको प्रतिवद्धता र नीतिगत निरन्तरता चाहिने बताइन्।
‘यस्ता आयोजना आजको भोलि बन्दैनन्। त्यसका लागि वर्षौं लाग्छ। आयोजना बनाउन नीतिगत निरन्तरता चाहिन्छ,’ उनले भनिन्।
नेपाल र चीनबीच बिजुली प्रसारण लाइन बनाउने विषयमा पनि छलफल भइरहेको उनले बताइन्।
‘नेपालमा बढी भएको बिजुली चिनियाँ बजारसम्म लैजान प्रसारण लाइन चाहिन्छ। त्यसबारे हामी छलफल गरिरहेका छौं,’ यान्छीले भनिन्,‘कुरा भइरहेको छ।’
उनले आफ्नो विचारमा नेपालमा धेरै भएको बिजुली प्रयोग गर्ने तीन तरिका भएको बताइन्।
‘पहिलो त नेपालले भारत वा चीनलाई निर्यात गर्न सक्छ। तर त्योभन्दा फाइदाजनक नेपालमै यसको उपयोग गर्नु हुन्छ। औद्योगिकीकरण गरेर नेपालमा बिजुली खपत बढाउन सकिन्छ,’ राजदूत यान्छीले भनिन्,‘कृषिलाई आधुनिकीकरण गरेर पनि नेपालभित्रै बिजुलीको खपत बढाउन सकिन्छ।’
चीनमा नेपालबाट बिजुली निर्यात गर्न सीमा क्षेत्रमा विशेष आर्थिक क्षेत्र बनाउन सकिने उनले बताइन्।
‘अहिले हामी नेपालचीन सीमानजिकै साना आर्थिक क्षेत्र बनाउनेबारे छलफल गरिरहेका छौं। ती आर्थिक क्षेत्रमा नेपालको बिजुली प्रयोग गर्न सकिन्छ,’ राजदूत यान्छीले भनिन्।