साउन २४, काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरुका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सवै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ ।
‘सुरुमा केन्द्रीय कार्यालयको बैठक बस्छ । केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठक बोलाउँछ । सचिवालयले स्थायी कमिटी, स्थायी कमिटीले पोलिटब्युरो र पोलिटब्युरोले केन्द्रीय कमिटी बैठक बोलाएर निर्वाचन लक्षित कार्यक्रम र कार्ययोजना तय गरिन्छ’, एमालेका एक पदाधिकारीले भने, ‘सम्भवतः बुधबार बेलुका केन्द्रीय कार्यालयको बैठक बसेर बिहीबारलाई सचिवालय बैठक तय गर्छ । त्यसपछि लगातार बैठकको मिति तय गरिन्छ ।’ एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए ।