१९ कात्तिक । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त जानकारी दिएका हुन् ।
‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय छन्,’ प्रवक्ता पोखरेलले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूहमा धेरै संख्या पनि छ ।’
निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको उनले बताए ।
प्रदेशस्तरीय गोष्ठीको उदघाटन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार गम्भीर रहेको जानकारी दिए । प्रदेश १ ले शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेको बताउँदै उनले भने ‘निर्वाचन सफल बनाउन सुरक्षा निकाय सक्रिय बनेका छन् ।’