२५,श्रावण नुवाकोट। अवरिल वर्षासँगै आएको बाढीले नुवाकोटको तादी नदीमाथिको पक्कि पुलहरूमा क्षति पुगेको छ । बाढीले पुलको एकातर्फ र दुबैतर्फको भाग कटान गरेर बगाएको छ । लामो वर्षासँगै तादी नदीमा भीषण बाढी आएको थियो । बाढीले किसानको धानखेत पनि बगाएको स्थानीयहरुले बताएका छन् ।।
बाढीले पुलमा क्षति पुर्याउँदा छहरे टोखा सडक पनि बन्द भएको छ । बाढीले पुलको केही भाग बगाएको छ । प्रहरीका अनुसार बाढीले लिखु गाउँपालिकामा रहेको तादी नदीको पुलमा ठूलो क्षति पुगेको छ । ढिकुरे वजारमा रहेको पुलमा क्षती पुग्दा नुवाकोटबाट काठामाडौँ जाने छोटो मार्ग गंगटे–छहरे–टोखा सडक खण्डमा दुबैतर्फको यातायात अवरुद्ध भएको छ ।
त्यस्तै बाढीले पञ्चकन्या गाउँपालिका वडा नं २ को आप्र र तादि गाउँपालिका नवा नं ५ वाहुनवेशि जोड्ने पक्कि पुल, पञ्चकन्या गाउँपालिका वडा नं १ को सिमारा फाट र लिखु गाउँ पालिका वडा नं ३ को सुर्यमति पुलमा क्षति पुर्याएको छ ।
त्यस्तै बाढीले जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं ३ राउतवेशि , तादी गाउँपालिका वडा नं ४ सातविसे, पञ्चकन्या गाउँपालिका वडा नं ४ थप्रेक जोड्ने पक्कि पुलमा क्षती पुर्याएको हो । प्रहरीले अहिलेसम्म बाढीबाट मानवनीय क्षति भएकोबारेमा कुनै जानकारी नआएको जनाएको छ ।
स्थानीयहरूले २०५० सालपछि पहिलो पटक यति ठूलो बाढी आएको बताएका छन । बाढीले विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको देवीघाट मन्दिरमा समेत क्षति पुगेको छ ।