भदौ २४, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजावेथको निधनमा दु:ख व्यक्त गरेका छन्।
शुक्रबार एक शोक वक्तव्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले महारानी एलिजावेथको नेपालप्रति अगाध आत्मियता रहेको उल्लेख गरेका छन्।
‘संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ। स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ। साथै, नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ,’ पूर्वराजा शाहले भनेका छन्,‘नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम् प्राथमिकता दिएका छौं।’
उनले एलिजावेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन्।
एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानी एलिजावेथको निधनमा दु:ख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्- अनुग्रह, सरलता र अन्य संस्कृति र मानवताप्रतिको सम्मानका कारण नेपालीहरू महारानी एलिजावेथला सधैँ सम्झिरहने छन्।
प्रधानमन्त्री देउवाले आफ्नो ट्विटमा महारानी एलिजावेथले दुई पटक गरेको नेपाल भ्रमणलाई पनि स्मरण गरेका छन्।
गद्दी सम्हालेपछि एलिजावेथ पहिलो पटक सन् १९६१ (विस २०१७) मा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी थिइन्।
त्यतिबेला नेपाल र बेलायतका राजपरिवारबीच भ्रमणको आदान-प्रदान हुन्थ्यो।
अर्को पटक एलिजावेथले २०४२ फागुनमा नेपालको राजकीय भ्रमण गरेकी थिइन्। त्यतिबेला राजा वीरेन्द्रले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
आफ्नो शासनकाल एलिजावेथले सबै कमनवेल्थ देशहरूको भ्रमण गरेकी थिइन्। विभिन्न देशमा उनको लोकप्रियता बढ्दो थियो।
नेपाल कहिले पनि उपनिवेश नभए पनि गोर्खा भर्तीका कारण नेपाल र बेलायतको सम्बन्ध गहिरो थियो। बेलायत र नेपालको त्यही विशेष सम्बन्धका कारण महारानी एलिजावेथ दुई पटक नेपाल आएकी हुन्।
द इकोनोमिस्टका अनुसार उनले संसारका एक सयभन्दा बढी मुलुकमा राजकीय भ्रमण गरेकी थिइन्।