२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गरेका छन् । दुईपटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले भएको उनको तर्क छ ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा गरेको अन्तर्क्रियामा महामन्त्री थापाले भने, ‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्छ ।’
२०७४ को आम चुनावमा कांग्रेसले सरकार बनाउने म्याण्डेट नपाएको भएपनि तत्कालिन नेकपाको अकर्मण्यताका कारण सरकारको नेतृत्व गर्नुपरेको उनले बताए ।
अर्लि इलेक्सनबारे सत्तारुढ गठबन्धनमा भएको छलफलतर्फ संकेत गर्दै उनले एमालेले संसद चल्नै दिएन के गर्ने भनेर छलफल मात्र सुरु भएको बताए ।
महामन्त्री थापाले भने, ‘एमालेलाई फकाएर ल्याउँछौं कि एमालेले नारा लगाएकै बीचमा कानुन बनाउँछौं । यो दुबै नभए के गर्ने हामीले विकल्प खोजेका छौं ।’