पहिला राजा महेन्द्र र पछि वीरेन्द्रको निम्तोमा नेपाल आएकी थिइन् एलिजावेथ

  • प्रकाशित मिति : September 9, 2022
  • कान्तिपुर सञ्चार

भदौ २४, काठमाडौं । बेलायतीकी महारानी एलिजावेथको बिहीबार निधन भएको छ। ७० वर्षसम्म बेलायतको राजगद्दी सम्हालेकी एलिजावेथ ९६ वर्षकी थिइन्।

उनको निधनमा बेलायत मात्र होइन संसारभरबाट दु:ख व्यक्त भइरहेको छ। विश्वभरिका नेताहरूले उनको निधनमा दु:ख व्यक्त गरिरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानी एलिजावेथको निधनमा दु:ख व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्- अनुग्रह, सरलता र अन्य संस्कृति र मानवताप्रतिको सम्मानका कारण नेपालीहरू महारानी एलिजावेथला सधैँ सम्झिरहने छन्।

प्रधानमन्त्री देउवाले आफ्नो ट्विटमा महारानी एलिजावेथले दुई पटक गरेको नेपाल भ्रमणलाई पनि स्मरण गरेका छन्।

गद्दी सम्हालेपछि एलिजावेथ पहिलो पटक सन् १९६१ (विस २०१७) मा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी थिइन्।

त्यतिबेला नेपाल र बेलायतका राजपरिवारबीच भ्रमणको आदान-प्रदान हुन्थ्यो।

अर्को पटक एलिजावेथले २०४२ फागुनमा नेपालको राजकीय भ्रमण गरेकी थिइन्। त्यतिबेला राजा वीरेन्द्रले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

आफ्नो शासनकाल एलिजावेथले सबै कमनवेल्थ देशहरूको भ्रमण गरेकी थिइन्। विभिन्न देशमा उनको लोकप्रियता बढ्दो थियो।

नेपाल कहिले पनि उपनिवेश नभए पनि गोर्खा भर्तीका कारण नेपाल र बेलायतको सम्बन्ध गहिरो थियो। बेलायत र नेपालको त्यही विशेष सम्बन्धका कारण महारानी एलिजावेथ दुई पटक नेपाल आएकी हुन्।

द इकोनोमिस्टका अनुसार उनले संसारका एक सयभन्दा बढी मुलुकमा राजकीय भ्रमण गरेकी थिइन्।