पोखरामा जहाज दुर्घटना: सनाखत गरिएका शव आज परिवारलाई जिम्मा लगाइने

  • प्रकाशित मिति : January 16, 2023
  • कान्तिपुर सञ्चार

काठमाडौं, माघ २

पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव परिवारका सदस्य तथा आफन्तहरूलाई जिम्मा लगाइने भएको छ।

दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरूको सनाखत भएका शव परिवार तथा आफन्तलाई सोमबार जिम्मा लगाउने तयारी छ।

सोमबार बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका शव परिवारलाई बुझाउने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

पहिचान नभएका र विदेशी नागरिकको शव भने काठमाडौंमा ल्याउने तयारी छ। काठमाडौंमा आफन्त तथा परिवार भएका स्वदेशी व्यक्तिहरूको शव पनि हेलिकप्टरबाट आज काठमाडौं ल्याउने तयारी छ।

जहाजमा चालक दलका चार जनासहित ७२ जना थिए। तीमध्ये ४ जना अझै फेला परेका छैनन्। उनीहरूको खोजी जारी छ।