असोज ४, काठमाडौं । चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रूपैयाँ आर्जन गरेको छ ।
हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु)नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुक बीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चालू आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं,’ उनले भने ।
आइएक्समा २४ घन्टालाई १५-१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रति युनिट नौ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट नौ रुपैयाँ २३ पैसा छ ।
थप एक सय मेगावाट निर्यात प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।
प्राधिकरणले केही दिनअघि चार जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो । यसअघि प्राधिकरणले चार जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो । थप चार जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले आठ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेस गरेको हो ।