असोज ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराउँदै सबै प्रदेश र जिल्लाहरूले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको एक नेताले जानकारी दिए ।
दुबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि प्रचण्डले सर्कुलरमार्फत निर्देशन दिएका छन् । यस्तै गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुबै पार्टीका प्रतिनिधित्व हुने गरी एकरुपतामा सहभागी हुन पनि प्रचण्डले निर्देशन दिएका छन् ।