राप्रपाले जिल्लाहरूमा खटायो केन्द्रीय प्रतिनिधि, आजदेखि चुनावी घरदैलो

  • प्रकाशित मिति : April 11, 2022
  • कान्तिपुर सञ्चार

वैशाख ३० मा हुने स्थानीय चुनावलाई केन्द्रित गरेर आजेदखि घरदैलो अभियान सञ्चालन गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

आज सबै जिल्लामा कोणसभा गरेर चुनावी घरदैलो अभियानको थालनी गरिने उनले बताए। राप्रपाले नेता तथा कार्यकर्तालाई टोलटोल र घरघरमा पुग्नसमेत भनेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजदेखि चुनावी घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

उम्मेदवार छनौट र चुनावी अभियानलगायतलाई केन्द्रीय प्रतिनिधिसमेत खटाइएको छ। विक्रम पाण्डे झापा, राजेन्द्र गुरूङ उदयपुर, राम थापा मोरङ, भक्तिप्रसाद सिटौला इलाम, मोहन श्रेष्ठ र दिनेश कार्की तनहुँ, ज्ञानेन्द्र शाही कालीकोट, कुन्तिकुमारी शाही सुर्खेतमा खटिएका छन्।

चितवनमा रेखा थापा, ताप्लेजुङमा सगुनसुन्दर लावती, धनकुटामा गोपाल दाहाल, धनुषामा मोहन यादव, काठमाडौंमा रोशन कार्की केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छन्।

भुवन पाठक भक्तपुर, प्रकाश रिमाल धादिङ, विक्रमबहादुर थापा ललितपुर, रवीन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दिपक कुमार राई रसुवा, भरतप्रसाद पाठक दोलखामा खटिएका हुन्।

रिना गुरुङ्ग मकवानपुरमा खटिएकी छन् भने हेमजंग गुरुङ्ग नवलपुर र महेन्द्रबहादुर कार्की गोरखामा खटिने भएका छन्। प्रवक्ता श्रेष्ठका अनुसार सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ।

राप्रपाले स्थानीयस्तरमा लोकप्रिय रहेकालाई उम्मेवार सिफारिस गर्न पनि भनेको छ।