रोकिएन नेप्सेको पहिरो, आज पनि ३८ अङ्कको गिरावट

  • प्रकाशित मिति : September 20, 2022
  • कान्तिपुर सञ्चार

असोज ४, काठमाडौं

केही दिन यताको निरन्तरको नेप्सेको पहिरो आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको हो ।

यस्तो सूचक गत आइतबार ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा रोकिएको थियो । उसो त आज (मंगलबार) क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७ अंकले घट्दै ३५८.८७ अंकमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।

सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.३७ प्रतिशतले, इन्भेस्टमेन्ट समूहको उपसूचक ३.१९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.६४ प्रतिशतले घटेको छ ।

यस्तै, माइक्रो फाइनान्स समूहको उपसूचक २.४७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०६ प्रतिशतले घटेको छ । समग्रमा २.०७ प्रतिशतले घटेको बजारमा आज कुल १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर कारोबार भएको छ ।