काठमाडौं, भदौ ३०
काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको होर्डिङ बोर्डमा विज्ञापन बजाउन र काठमाडौं महानगरले उक्त बोर्ड हटाउन पनि नपाइने भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज चन्द र महेन्द्रनाथ उपाध्यायको इजलाशले बिहीबार अन्तरिम आदेश दिएको स्रेस्तेदार ठगिन्द्र कट्टेलले जानकारी दिए।
‘नवीकरण नभएकाले विज्ञापन बजाउन नपाउने र फैसलाको टंगो नलागुन्जेल महानगरले आफैं बोर्ड पनि हटाउन नपाउने गरी अन्तरिम आदेश जारी गरेको हो,’ कट्टेलले भने।
उनका अनुसार कम्पनी आफैंले नै उक्त बोर्ड हटाउन भनेको हो।
काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाउन भनेपछि सेन्टरले रिट हालेपछि अदालतले स्टे अर्डर दिएको थियो। त्यसपछि बिहीबार अन्तरिम आदेश दिएको हो। यस मुद्दाको टुंगो नलागेसम्म महानगरलाई बोर्डहरू नहटाउन भनेको हो।
बोर्ड लगायतमा लगानी परेको हुँदा विज्ञापन सामग्री प्रशारण गर्ने डिजिटल बोर्डलगायतका भौतिक संरचना स्वइच्छाले हटाउन भनेको हो।