साउन २२, काठमाडौ । नेपाल पत्रकार महासंघ ललितपुरमा आबद्ध १६३ सञ्चारकर्मीले शनिबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाएका छन् । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेको तर सेवाग्राहीको दैनिक चापका कारण कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले समयमा परिचय पत्र बनाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै महासंघ ललितपुरले सहजीकरण गरेको हो ।
महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रशासनसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पारेर शाखामा आबद्ध सञ्चारकर्मीहरूको परिचय पत्र बनाइएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचय पत्र इकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासंघले साथ दिएको भन्दै सञ्चारकर्मीलाई पनि सहजरुपमा परिचयपत्र बनाउन आफूहरुले साथ दिएको बताए ।
‘सरकारको अभियानमा पत्रकार महासंघले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ’, राउतले भने, ‘समयमै राष्ट्रिय परिचय बनाए सहज हुनेछ ।’
अन्य बेलामा प्रशासनमा भिडभाड बढी हुने भएकोले सञ्चारकर्मीका लागि सार्वजनिक बिदाको दिन सेवा दिएको उनले बताए ।
पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले शाखामा आबद्ध पत्रकारहरूको सहजताका लागि आफूहरूले विगतदेखि नै विभिन्न कार्यक्रममा सहजीकरण गर्दै आएको बताए ।