सुनको मूल्य लगातार रेकर्डतर्फ, प्रतितोला १ लाख ३ हजार

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं। सुनको मूल्यमा बढोत्तरी रेकर्डतर्फ लम्किएको छ। सोमबार सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ भएको छ। साताको पहिलो दिनका तुलनामा यो १ हजार १ रुपैयाँको बढोत्तरी हो भने शुक्रबारको मूल्यभन्दा ३ हजार १ सय रुपैयाँले बढी हो।

आइतबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो। त्यसअघि गत शुक्रबार ९९ हजार ९ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कोभिड-१९ महामारी सुरु हुँदाताका जस्तै सुनको भाउ उकालो लागेको छ।

कोभिड महामारीले अन्तर्राष्ट्रिय बजार प्रभावित भएका बेला सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। रुसले युक्रेनमाथि आक्रमण गरेयता पेट्रोलियम पदार्थ र सुन लगातार महँगिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनका तुलनामा १० रुपैयाँ बढ्दा चाँदी प्रतितोला १४ सय २५ भएको छ। यसअघि ३५ रुपैयाँ बढ्दा आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार प्रतितोला १३ सय ८० थियो। लगातार मूल्य उकालो लागिरहँदा नेपाली बजारमा कारोबार भने निकै कम भइसकेको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य आकासिएको छ। साताको अन्तिम दिन प्रतिऔंस १९३९.९५ डलरले कारोबार भएको सुन सोमबार १९९०.२५ डलर पुगेको छ। आइतबार प्रतिऔंस १९७०.६८ डलर थियो ।

चाँदी प्रतिऔंस २५.८९ भएको छ। आइतबार प्रतिऔंस २५.७४  र शुक्रबार २५.२१ डलरमा कारोबार भएको थियो। संसारभर हुने तेल आपूर्तिकर्तामा ३० प्रतिशत योगदान गरिरहेका रुस र युक्रेनको कारोबार यतिबेला ठप्प छ। यसले अन्तर्राष्ट्रिय बजारमा दूरगामी प्रभाव परेको छ।

दुई राष्ट्र बीचको द्वन्द्व अन्त्य नहुन्जेल अन्तर्राष्ट्रिय बजारमा उनीहरुको उपस्थिति नहुने विश्लेषण भइरहेको छ। यसले गर्दा सुन र पेट्रोलियम पदार्थको मूल्यमा छिटै गिरावट नआउने आकलन बजार विश्लेषकहरुको छ।