साउन २२, काठमाडौ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा ऐक्यबद्धता जनाएका छन् । सांसद किरातीले शनिबार धरानको सरदु जलाधार क्षेत्रमा भएको वृक्षारोपणमा भौतिक सहभागिता जनाएर ऐक्यबद्धता व्यक्त गरेका हुुन् । शनिबार बिहानै जलाधार क्षेत्रमा पुगेर उनले वृक्षारोपण समेत गरे । अभियानमा ऐक्यबद्धता जनाउँदै उनले भने, ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकाले देखाएको श्रम अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दछु ।’
उनले राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न पनि आग्रह गरे । उनले भने, ‘पहिले यस्तो श्रम माओवादीहरूले गर्ने गर्थे, तर अहिले अरुको संगतले बिग्रियौँ ।’ किरातीले ‘जनतासँग सांसद’ कार्यक्रमअन्तर्गत हरेक महिना गृहजिल्लामा नागरिकसँग संवाद गर्दै र उनीहरुको खेत–बारीमा श्रमसमेत गर्दै आएका छन् ।
किरातीले मेयर हर्क साम्पाङलाई सुझावसमेत दिए । श्रम अभियानलाई नरोक्न तथा निरन्तरता दिन, राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन र हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले साम्पाङलाई सुझाव दिए ।