अनसनरत विद्यार्थीलाई पढ्ने वातावरण बनाउन निर्देशन

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं २३ फागुन । संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।

समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि विद्यार्थीहरुको कोर्ष पूरा गरिदिनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरु पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्‍याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउन निर्देशन दिनु भयो ।

सभापति घर्तीले नेपालमा कानून आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले कलेजले कानूनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो ।

सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐन कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनुपर्ने बताउनुभयो ।