अब व्यवसायमा लगानी जुटाउने साझेदार खोज्न अझै सजिलो

  • प्रकाशित मिति : August 15, 2022
  • कान्तिपुर सञ्चार

साउन ३०, काठमाडौँ । आफ्नो व्यवसाय अगाडि बढाउनु छ तर पुँजी अभाव भएकाले सकिएको छैन?

यस्ता व्यवसायीहरूका लागि अब पुँजी जुटाउन सक्ने थप विकल्प बजारमा उपलब्ध हुने भएको छ।

धितोपत्र बोर्डले गत २५ साउनमा ग्लोबल इक्विटी फन्डलाई अनुमति दिएको छ। योसँगै पुँजी जुटाउने वैकल्पिक बाटो खुला भएको छ।

बोर्डका प्रवक्ता रूपेश केसीका अनुसार ग्लोबल इक्विटीले कोष व्यवस्थापकको अनुमति पाइसकेको छ। सञ्चालन गर्ने कोषको अनुमति लिन भने बाँकी छ।

‘अन्य आठ वटा संस्था यस्तो अनुमतिका लागि प्रक्रियामा छन्,’ केसीले भने।

एनआइसी एसिया क्यापिटल, एनआइबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, प्रभु क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिङ, एनएमबी क्यापिटल, अवसर इक्विटी र अध्यान्त फन्ड म्यानेजर कोष व्यवस्थापकका रूपमा काम गर्न अनुमतिको पर्खाइमा छन्।

यसरी अनुमति प्राप्त गर्ने कोष व्यवस्थापकले व्यवसायका लागि लगानी जुटाइदिने छन्। यस्ता व्यवस्थापकले प्राइभेट इक्विटी फन्ड वा भेन्चर क्यापिटल वा हेज फन्ड जस्ता कोष बनाएर लगानी गर्नेछन्।

हाल भने यस्ता कोष व्यवस्थापकहरूले प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका रूपमा मात्रै लगानी गर्न सक्छन्। हेज फन्डका लागि थप नियम आवश्यक भएको बोर्डले उल्लेख गरेको छ।

यस्ता कोष सञ्चालकहरूले पहिले कुनै निश्चित रकमको कोष बनाउँछन्। धितोपत्र बोर्डको विशिष्टिकृत लगानी कोष नियमावली-२०७५ अनुसार यस्तो कोष कम्तीमा १५ करोड रूपैयाँको हुनुपर्छ।

कोषमा व्यवस्थापकले कम्तीमा दुई प्रतिशत बराबर लगानी गरेको हुनुपर्छ। अन्य लगानीकर्ता बढीमा दुई सय जना हुन सक्छन्। यसरी यस्तो कोषमा लगानी गर्न चाहने प्रत्येकले कम्तीमा ५० लाख रूपैयाँ लगानी गरेको हुनुपर्नेछ।

बैंकको बचत, ऋणपत्र वा सेयर बजारको तुलनामा यस्तो लगानीमा जोखिम धेरै हुन्छ। त्यसैले प्रतिव्यक्ति लगानी सीमा उच्च कायम गरिएको हो। यसरी लगानी गरेका लगानीकर्ताले नगद लाभांश मात्रै प्रतिफलको रूपमा प्राप्त गर्न सक्छन्।

यस्तो कोषमा जो सुकै नेपालीले लगानी गर्न सक्ने व्यवस्था छ। संस्थाको हकमा भने सीमितले मात्रै लगानी गर्न पाउने व्यवस्था छ। बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नागरिक लगानी कोषजस्ता कोषहरू र लगानी उद्देश्यसहित स्थापना भएका संस्थाहरूले लगानी गर्न सक्छन्।

यस्ता कोष व्यवस्थापकले कोषमा जम्मा भएको रकम सरकारले प्रतिबन्ध लगाएको बाहेक जुनसुकै कम्पनी वा व्यवसायमा लगानी गर्न सक्ने व्यवस्था छ।

यसरी चलिरहेको कम्पनी वा व्यवसायमा तथा नयाँ सुरूआती चरणमा रहेका कम्पनी वा व्यवसायमा व्यवस्थापकहरूले लगानी गर्न सक्छन्। लगानी गर्न बनाइने यस्ता कोषको अवधि पाँचदेखि १५ वर्षको हुन सक्ने व्यवस्था छ।

प्राइभेट इक्विटीका रूपमा लगानी गर्ने कोष व्यवस्थापकले आवश्यक व्यवसाय वा कम्पनीहरूलाई ऋण वा साधारण सेयरमा परिवर्तन गर्न सकिने ऋण प्रदान गर्छ। त्यस्तै भेन्चर क्यापिटलका रूपमा काम गर्ने कोषले पनि यसरी नै लगानी गरिदिन्छन्। यसमा फरक भनेको व्यवसायको सोच मात्र विकास भएका वा भर्खरै सुरूआत गरेका व्यवसायमा समेत सम्भावनाको आधारमा लगानी गरिन्छ।

यी दुवै माध्यमबाट यसरी गरिएको लगानी उनीहरूले निश्चित समयपछि निकाल्न सक्छन्। ती व्यवसाय वा कम्पनी चलाइरहेका पुराना संस्थापक सेयरधनीले नै यस्तो कोषको सेयर पुनः खरिद गर्न पनि सक्छन्।

अर्को उपाय भनेको सेयर जारी गरेर बाहिरिने पनि हो।

त्यसबाहेक कम्पनी वा व्यवसायमा रणनीतिक साझेदार भित्र्याएर पनि यस्तो कोष बाहिरिन सक्छ।

हालै कोष व्यवस्थापकका रूपमा अनुमति पाएको ग्लोबल इक्विटीले भने करिब डेढदेखि दुई अर्बको कोष बनाउने तयारी थालिसकेको छ। कोषको रकम हरित ऊर्जा, शिक्षा, स्वास्थ्य क्षेत्र, कृषि, प्रविधि, सेवा क्षेत्रमा लगानी गरिने भएको छ।

‘हामीले प्राइभेट इक्विटीका रूपमा काम गर्ने उद्देश्य लिएका छौं,’ ग्लोबल इक्विटी फन्डका व्यवस्थापक साझेदार डा. मनिष थापाले भने, ‘अहिले पनि हामीलाई सरदर १०/१५ जनाले लगानीका लागि सोधखोज गरिरहनुभएको छ।’

फन्डले यसरी कुनै कम्पनी वा व्यवसायमा लगानी गर्दा न्यूनतम १० देखि ४९ प्रतिशतसम्म सेयर लगानी गर्ने रणनीति बनाएको छ।