अमेरिकाद्वारा मंकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा

  • प्रकाशित मिति : August 5, 2022
  • कान्तिपुर सञ्चार

साउन २०, काठमाडौ । संयुक्त राज्य अमेरिकाले मंन्कीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ।

संक्रमितहरुको संख्या अमेरिकाभर बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरेको हो। यसअघि विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल घोषणा गरे पनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन।

स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलपछि अमेरिकी सरकारले यस्तो घोषणा गरेको हो।

संकटकाल घोषणापछि संघीय स्वास्थ्य अधिकारीहरुले यो रोगविरुद्ध मापदण्डहरुलाई तीब्र पार्नेछन्।

मंकिपक्सविरूद्ध लड्न थप जनशक्ति परिचालन गर्नुका साथै तथ्याङ्क संकलनका लागि संकटकाल घोषणा गरिएको वाइडेन प्रशासनले जनाएको छ।

यसैबीच हरेक अमेरिकीलाई मंकीपक्स रोगलाई गम्भीर रूपमा लिन र भाइरससँग लड्न सहयोग र जिम्मेवारी बन्न हेल्थ एण्ड ह्यूमन सर्विस सेक्रेटरी जेवियर बेसेराले आग्रह गरेका छन्।

तत्काल तीन महिनाका लागि घोषणा गरिएको जनस्वास्थ्य संकटकाल यसको अवस्था हेरेर थप विस्तार गर्न सकिने बताइएको छ।

अमेरिकामा मेको मध्यमा मंकीपक्सको पहिलो संक्रमण पत्ता लागेको थियो। त्यसयता अमेरिकामा ६ हजार ६ सयभन्दा धेरै पुष्टी भएका र सम्भावित संक्रमणहरु भेटिएका छन्।

मोन्टाना र वायोमिङ बाहेक सबै राज्यमा संक्रमण पहिचान गरिएको छ। जसमध्ये एक चौथाई न्यूयोर्कका मानिसमा देखिएको छ। विज्ञका अनुसार यो संख्या अझ बढ्न सक्नेछ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत महिना मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ।

रोगको अन्तर्राष्ट्रिय फैलावट मार्फत जनस्वास्थ्य जोखिम भएको अवस्थामा विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गर्ने गर्छ।

मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा पुगेको छ। १६ हजार बढी मानिसमा यसको संक्रमण देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो।

त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला-बेलामा देखिने गरेको थियो।

यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेला-बेला यो भाइरसको संक्रमण हुन्थ्यो। अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन। बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन्। शरीरका विभिन्न भागमा बिबिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका भने हुँदैनन्।

संक्रमितलाई निको हुन ६ देखि १३ दिनसम्म लाग्छ। कसैलाई निको हुने २१ दिनसम्म लाग्न सक्छ।

मंकिपक्सको छुट्टै उपचार छैन। चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन्। संक्रमितहरूलाई डाक्टरले अवस्था हेरेर उपचार सिफारिस गर्छन्। बच्चा र गर्भवती महिलालाई संक्रमण भए अरूभन्दा बढी गाह्रो हुन सक्छ।

मंकिपक्सको मृत्युदर न्यून छ। नाइजेरियामा अहिलेसम्मको तथ्यांकमा संक्रमितमध्ये ३.३ प्रतिशतले ज्यान गुमाएका छन्।

मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ। अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ।