अर्गानिक कृषिमा नमुना गाउँ बन्ने तयारीमा छ ब्युरेनी

  • प्रकाशित मिति : August 7, 2022
  • कान्तिपुर सञ्चार

साउन २२, काठमाडौ । भेरीगंगा नगरपालिका–५, ब्युरेनीका पेउली पुनको परिवारको आम्दानी दुई वर्षयता बढेको छ। व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि उनको परिवारको आम्दानी बढेको हो। अहिले तरकारीबाट भएको आम्दानीले परिवारको अतिरिक्त खर्च टर्न थालेको छ।

‘नुनतेलमात्र हो दोकानबाट किन्नु पर्ने, बाँकी भान्साको खर्च त आफ्नै खेतीबाट टर्छ,’ पेउली भन्छिन्, ‘परार (दुई वर्षअघि) तरकारी खेती गर्न थालेपछि वर्षभर फलेको तरकारी बेचेर कमाएको पैसाले लत्ताकपडा र अरू खर्च चलेको छ।’

ब्युरेनीकै धनमाया वलीका परिवारजन सात रोपनी जमिनमा अन्न र तरकारी उत्पादन गर्छन्। तरकारी उत्पादनका लागि छुट्टै एउटा टनेल बनाएका छन्।

‘पहिले लगाइरहेको धान–गहुँ अहिले पनि लगाउँछौँ। त्यसले वर्षभरिलाई खान पुग्छ,’ धनमाया भन्छिन्, ‘अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्दै छौँ। आफूले खाएर बचेको सबै तरकारी बिक्री गर्छौं।’

ब्युरेनी गाउँमा ३० घरपरिवार छन्। उनीहरूले ‘लालीमा अर्गानिक कृषि समूह’ बनाएका छन्। समूहमा गाउँका सबै कृषक आबद्ध छन्।
हाल यो कृषक समूह अर्गानिक उत्पादनमा लागेको छ। समूहले आफ्नो गाउँलाई अर्गानिक उत्पादनमा ‘नमूना’ बनाउने अभियान चलाएको छ।

यो गाउँका कृषकहरू तरकारी, मसला र खाद्यान्नमा आत्मनिर्भर छन्। भान्सामा नुनतेलबाहेक केही पनि किन्नु पर्दैन।

‘हाम्रो उत्पादनले खान पुग्छ, बाहिरबाट किन्ने भनेको नुनतेल हो,’ समूहका कृषकको अवस्थाबारे धनमायाले भनिन्, ‘पहिले बजारतिर नौलो तरकारी देखियो भने किनेर ल्याइन्थ्यो। आजकाल केही किन्नु पर्दैन। सबै आफैँ उत्पादन गर्छौैं।’

समूहका कृषकहरू आलु, प्याज, धनियाँ, काँक्रा, टमाटर, साग र सिजन अनुसारका सबैजसो तरकारी उत्पादन गर्छन्।
अन्नमा धान, गहुँ र मकै फलाउँछन्। तोरी ब्युरेनी गाउँको परम्परागत उत्पादन हो जुन अहिले पनि निरन्तर छ।

‘केही वर्षअघिसम्म हामी विशेष प्राथमिकमता दिएर धानखेती गर्थ्यौं,’ समूहका अर्का कृषक गोपालजंग भण्डारीले भने, ‘अहिले बेमौसमी तरकारी खेती पनि सुरु गरेका छौँ। सरकारी निकायबाट २५ वटा टनेल सहयोग भएको छ।’

टनेल निर्माणका लागि कृषि विकास निर्देशनालयले ७० प्रतिशत सहयोग गरेको छ। बाँकी ३० प्रतिशत कृषकको लगानी छ।
‘हाम्रो उत्पादन अर्गानिक नै हो। अर्गानिक उत्पादनको नमुना गाउँ बनाउने योजना छ,’ गोपालजंग भन्छन्, ‘यसले कर्णाली प्रदेश सरकारले गरेको आर्गानिक प्रदेशको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने आशा छ।’

बजारबाट किन्ने उपभोक्ताहरूले अर्गानिक र विषादी मिसिएको खानेकुरामा फरक नछुट्याई खाने गरेको गोपालजंगको भनाइ छ। उनी भन्छन्, ‘हामी बजारको विषादीयुक्त तरकारी र खाद्य छोडेर आफ्नै अर्गानिक उत्पादन खाने प्रक्रियामा गएका छौँ।’

गोपालजंग १७ रोपनी जमिनमा खेती गर्छन्। अर्गानिक तरकारी बेच्ने गरेका छन्। उनले टमाटरबाट तरकारी खेती सुरु गरेका थिए। सिमी र काँक्रो पनि लगाएका थिए। पहिलो वर्ष नै ५० हजार रुपैयाँ कमाएको उनले बताए। अर्को वर्ष धनियाँ मात्रै ८ हजार रुपैयाँको बेचे।

उनका अनुसार गाउँका सबै कृषकले एउटा टनेलको अर्गानिक तरकारीबाट वर्षमा कम्तीमा ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन्।

‘गाउँका कोही पनि किसान बजारको भर पर्नु पर्दैन, आफ्नै उत्पादनले खान पुग्छ,’ गोपालजंग भन्छन्, ‘अर्गानिक तरकारी खेती थालेपछि आफूले स्वस्थकर तरकारी खाना पाइयो। बजारमा बेचेर लाभ लिन पायो। दुवैतिर फाइदा भएको छ।’

उनका अनुसार कृषकहरू कृषिमा आर्थिक लगानी गर्नु असुरक्षित ठान्थे। उनीहरू बरु बजारतिर सानोतिनो व्यवसाय गर्नु राम्रो र सुरक्षित मान्थे। व्यावसायिक खेतीले यस्तो धारणा बदलिदिएको छ। कृषकहरू खेतीमा लगानी गर्न थालेका छन्।

कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयले ब्युरेनी गाउँलाई ‘नमुना अर्गानिक कृषि उत्पादन गाउँ’ घोषणा गर्ने तयारी गरेको छ। निर्देशक चित्रबहादुर रोकायाका अनुसार चालु आर्थिक वर्षभित्र अर्गानिक उत्पादनमा नमुना घोषणा गर्ने तयारी छ।

‘कृषकहरूले अर्गानिक नमुना गाउँ घोषणा गर्न योग्य भइसकेको भन्नुभएको थियो। विभिन्न कारणले सकिएन,’ रोकायाले भने, ‘अब एक चरण कृषकहरूसँग छलफल गरेर यो आर्थिक वर्षभित्र घोषणा गर्छौैं।’

कृषि उत्पादनमा आएको परिवर्तनबाट ब्युरेनी गाउँका कृषकहरू खुसी देखिएका छन्। उनीहरूको आत्मविश्वास बढेको छ। कृषिबाटै आम्दानी बढाउने अभियानमा छन्।