असार सुरू भएदेखि नै राष्ट्र बैंकले रोक्यो पुनर्कर्जा

  • प्रकाशित मिति : July 9, 2022
  • कान्तिपुर सञ्चार

असार २५, काठमाडौँ । आगामी आर्थिक वर्षबाट पुनर्कर्जा कोषमा रहेको रकम बराबर मात्रै कर्जा जारी गरिने बताउँदै आएको राष्ट्र बैंकले असारयता यस्तो कर्जा लगानी नै रोकेको छ।

‘हामीले असार सुरू भएदेखि नै पुनरकर्जा जारी गर्न रोकेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अहिले लगानी भइसकेको कर्जा भुक्तान हुँदै गर्दा सम्भवत आगामी आर्थिक वर्षमा यस्तो लगानी रकम कोषमा रहेको रकम बराबरको सीमामा आउन सक्छ।’

कोभिडलगत्तै राष्ट्र बैंकले आफ्नो कोषमा रहेको पाँच गुणासम्म पुनर्कर्जा सुविधा दिने व्यवस्था गरेको थियो। अर्थतन्त्र चलायमान बनाउन भन्दै यस्तो सुविधा दिन राष्ट्र बैंकले नोट नै छापेको थियो। यो सुविधालाई राष्ट्र बैंकले घटाउँदै लगेको छ।

केही दिनअघि भएको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले जारी गरिने पुनर्कर्जा राष्ट्र बैंकको कोषमा भएको रकम बराबर मात्रै गर्ने तयारी भइरहेको समेत जानकारी दिएका थिए।

राष्ट्र बैंकले पछिल्लो पटक आफ्नो कोषको ४.१२ गुणासम्म (दुई खर्ब १२ अर्ब रूपैयाँ) मात्रै पुनर्कर्जा दिने व्यवस्था गरेको थियो। असार लागेयता राष्ट्र बैंकले अघोषित रूपमा पुनर्कर्जा जारी गर्न बन्द गरेको छ। हाल राष्ट्र बैंकको कोषमा करिब ४२ अर्ब ४० करोड बराबर रूपैयाँ छ।

गत पुससम्ममा बैंक तथा वित्तीय संस्थामार्फत राष्ट्र बैंकले दिँदै आएको पुनर्कर्जा एक खर्ब ५८ अर्ब रूपैयाँसम्म थियो। जेठसम्ममा भने लगानीमा रहेको यस्तो पुनर्कर्जा एक खर्ब १५ अर्ब रूपैयाँमा सीमित भएको छ। अहिले पुनर्कर्जा दिन बन्द गरिएसँगै आगामी आर्थिक वर्षको अन्त्यसम्ममा पुनर्कर्जा अन्तर्गतको लगानी ४२ अर्ब रूपैयाँ हाराहारी आउने अनुमान गरिएको छ।

राष्ट्र बैंकले तीन शीर्षकमा पुनर्कर्जा जारी गर्छ। लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष र साधारण पुनर्कर्जाको रूपमा बैंकहरूमार्फत् लगानी भइरहेको छ। राष्ट्र बैंकले अर्धवार्षिक समीक्षाबाट असल कर्जाको धितोमा प्रदान गरिने पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट अधिकतम ७ प्रतिशत ब्याजदर लिन पाउने व्यवस्था गरेको छ।

यसअघि राष्ट्र बैंकले बैंकहरूलाई एकदेखि तीन प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउँन्थ्यो भने बैंकहरूले ग्राहकसँग तीनदेखि पाँच प्रतिशतसम्म ब्याजदर लिन पाउँथे।

हाल राष्ट्र बैंकले बैंकहरूलाई ४ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, २ प्रतिशतमा विशेष पुनर्कर्जा र ५ प्रतिशतमा साधारण पुनर्कर्जा रकम प्रदान गर्छ। बैंकहरूले भने यिनमा ग्राहकसँग क्रमशः ७ प्रतिशत, ५ प्रतिशत र ७ प्रतिशत लिन पाउँछन्।