आमाको नाममा नागरिकता दिन कञ्जुस्याइँ नगरौँ : आले

  • प्रकाशित मिति : June 24, 2022
  • कान्तिपुर सञ्चार

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कञ्जुस्याई गर्नु नहुने बताएका छन् ।  शुक्रवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद मगरले कुनैपनि नागरिकलाई राज्यबिहीन र नागरिकताबिहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु नहुने बताएका हुन् ।

उनले पुरुषवादी र पितृसत्तावादी समाज रहेको उल्लेख गर्दै पुरुषवादी चिन्तनकाबिरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताए । चालु संसद अधिवेशनमा नै  नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकताको समस्या समाधान गरियोस् । विधेयकलाई सदनमा यसैपटक ल्याएर यसलाई पास गरियोस् र सहमतिका आधारमा अगाडी बढाइयोस् । किनभने नागरिकता भन्नेकुरा धेरै संवेदनशील र गम्भिर कुरा हुन्छ । महत्वपूर्ण कुरा हुन्छ । कुनैपनि नागरिक राज्यबिहीन, नागरिकताबिहीन रहन सक्दैन । धेरै समस्या उसले झेल्नुपर्ने हुन्छ । यो नागरिकता विधेयक ल्याइयोस् । आमाको नाममा नागरिकता दिने कुरा म पनि जोडदार रुपमा समर्थन गर्न चाहन्छु । यो समाज पुरुषप्रधान समाज हो । पुरुषवादी, पितृसत्तावादी समाज हो । त्यसकारणले उसले बुबाको नाममा नागरिकता दिन कुनै कन्जुस्याँई हुँदैन तर आमाको नाममा नागरिकता दिन उसले कन्जुस्याँई गर्छ । त्यसकारणले यो पुरुषवादी चिन्तनका बिरुद्ध तपाईहरु लड्नुस् म पनि तपाईंहरुको साथमा छु भन्ने कुरा राख्न चाहन्छु ।’

 

उनले महंगीले जनताको ढाड सेकेको भन्दै जनताले कुनै राहत नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।  सांसद मगरले मनाङ जिल्लालाई गत वर्षको बाढीले तहसनहस बनाएकोमा हालसम्म पनि त्यहाँको स्थिति भयावह रहेकाले आवागमन सहज बनाउन सरकारसँग माग गरे ।