उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, उदारणीय हुन सफल

  • प्रकाशित मिति : April 2, 2022
  • कान्तिपुर सञ्चार

राम्रा सामुदायिक स्कुल

कक्षा दसको अन्तिम परीक्षा अर्थात् एसइई सकेपछि धेरै विद्यार्थी कम्प्युटर सिक्न इन्स्टिच्युट धाउँछन्। राम्ररी सिकाउने इन्स्टिच्युट खोज्न अभिभावकको दौडधुपै चल्छ। डिजिटल माध्यमले फड्को मारेको यो युगमा सबै काम डिजिटल प्रविधिबाटै हुने भएकाले कम्प्युटर प्रविधिमा रूचि बढ्ने नै भयो।

विद्यार्थी र अभिभावकको यही रूचि ध्यानमा राखेर शिवपुरी माध्यमिक विद्यालयले प्राविधिक शिक्षा पढाउन सुरू गरेको छ।

विद्यालयले प्राविधिक विषयअन्तर्गत कम्प्युटर इञ्जिनियरिङको पढाइ चालु शैक्षिक सत्रमा सुरू गरेको हो। कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीले प्राविधिक विषय पढ्न पाउँछन्।

प्राविधिक शिक्षाका लागि विद्यालयमा ५० वटा सिट छन्। कम्प्युटर इञ्जिनियरिङ पढाउने शिक्षक शारदा पाठकका अनुसार पढाइको नतिजा र प्राविधिक विषयमा रूचिका आधारमा विद्यार्थी छनौट गरिएको हो।

नयाँ विषय भएकाले विद्यार्थीहरूमा कौतुहल देखिएको छ। यो डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ जस्तै कोर्स हो। बाह्र कक्षा पूरा गरेपछि स्नातक तहमा कम्प्युटर इञ्जिनियरिङ पढ्न पाउँछन्,ु पाठकले भनिन्, पढ्दापढ्दै अवसर पाइहाले जागिर पनि पाउँछन्।

 

विद्यालय तहमा कम्प्युटर इञ्जिनियरिङ कक्षा ९ देखि १२ सम्म लागतार चार वर्ष पढाइ हुन्छ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विद्यालय खोल्ने नीति लिएको थियो। सोहीअनुरूप शिवपुरी माविले प्राविधिक शिक्षा सुरू गर्न चाहेको थियो तर त्यसमा छनौट भएन।

विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीका अनुसार पछि काठमाडौं महानगरपालिकाले महानगरभित्रका तीन वटा विद्यालयलाई प्राविधिक विषय पढाउन स्वीकृति दियो।

सुरूमा शिवपुरी माविले प्राविधिक विषय पढाउन प्रस्ताव पेस गरेकामा छनौट भयो। लगत्तै महानगरले ५० लाख रूपैयाँ बजेट दियो, उनले भने, अनि चालु शैक्षिक सत्रमै प्राविधिक शिक्षा सुरू भयो।

शिवपुरी मावि २००५ सालमा स्थापना भएको पुरानो विद्यालय हो। यहाँ देशभरका साढे १३ सय विद्यार्थी छन्। शिक्षक ६५ जना छन् जसमध्ये ४० जना सरकारी दरबन्दीका हुन्, बाँकी करारका।

यहाँ पाँच कक्षासम्म विद्यार्थी संख्या निकै कम छ। पाँचमाथि धेरै छन्। सबभन्दा बढी कक्षा नौमा १७५ जना छन्।

कुल ४० कोठा रहेको विद्यालय भवनमा २१ वटा कोठामा विद्यार्थी पढ्छन्। एउटा कोठामा कम्तीमा ४० देखि बढीमा ६० जनासम्म अटाउँछन्। प्रधानाध्यापक दूरदर्शीका अनुसार विद्यालयमा क्षमताअनुसार विद्यार्थी संख्या पूरा छ।

उनले भने, साना बालबालिकाहरू हिँड्न मान्दैनन्, हामीसँग विद्यालयको बस छैन। निजी विद्यालयहरू जताततै छन्, अभिभावकले विकल्प रोज्न पाउनुहुन्छ। यसकारण साना कक्षामा विद्यार्थीको संख्या कम छ।

त्यसो त सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गर्दा माथिल्लो पढाइमा राज्यले दिने सुविधामा अग्राधिकार हुन्छ भन्ने धेरैको सोच छ। कतिपय अभिभावक छोराछोरीलाई कक्षा नौमा भर्ना गर्न सामुदायिक विद्यालय लैजान्छन्। शिवपुरी माविले भने यस्ता विद्यार्थीलाई प्राथमिकतामा नराखेको प्रधानाध्यापक दूरदर्शीको भनाइ छ।

निजी विद्यालयबाट आएर कक्षा नौमा भर्ना हुन चाहने धेरै भएपछि यहाँका विद्यार्थी सुविधाबाट बञ्चित हुन थाले। अनि हामीले यस्ता विद्यार्थीलाई निरूत्साहित गर्‍यौं, उनले भने।

उनका अनुसार छात्रवृत्तिका लागि शिवपुरी मावि रोज्नेले कक्षा आठसम्ममा भर्ना भइसक्नुपर्छ। विद्यालयले २०६४ सालदेखि अंग्रेजी माध्यममा पढाउन सुरू गरेको हो।

निजी विद्यालयले अंग्रेजी माध्यममा पढाउँछन्। अन्तर्राष्ट्रिय स्तरमा पनि अंग्रेजी भाषाकै माग बढी छ। नेपाली माध्यमकै कारण सामुदायिक स्कुलमा विद्यार्थी संख्या घट्न थालेपछि अंग्रेजी माध्यममा पढाउन थालेको प्रधानाध्यापक दूरदर्शीले बताए।

कक्षा पाँचसम्म अंग्रेजी माध्यम अनिवार्य छ। यसभन्दा माथि अंग्रेजी र नेपाली दुवै माध्यममा पढ्ने सुविधा छ। अंग्रेजी माध्यममा पढ्नेको संख्या बढी छ।

विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन विद्यालयले डिजिटल प्रविधिमा जोड दिएको छ। कम्प्युटर र प्रोजेक्टर प्रयोग गरेर पढाइ हुन्छ। दुई वटा कम्प्युटर ल्याब छन्। एउटा डिजिटल अन्तर्क्रियात्मक कोठा छ।

हरेक कक्षाकोठालाई डिजिटल कक्षा बनाउने प्रधानाध्यापक दूरदर्शीको योजना छ।

एउटा कक्षालाई डिजिटल बनाउन तीनदेखि चार लाख रूपैयाँ लाग्ने रहेछ, उनी भन्छन्, स्रोत भयो भने माथिल्लो कक्षाबाट डिजिटल बोर्ड राख्दै जान्छौं।

साना कक्षाका विद्यार्थीका लागि टेलिभिजन छ। खेलकुद सामग्री पर्याप्त छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिवपुरी माविले दुई पटक बजेट पायो। उक्त बजेट खानेपानी सुधार र आइसिटी ९सूचना, सञ्चार तथा प्रविधि० मा खर्च गर्‍यो। अझै पनि शौचालयको समस्या छ, बनाउन ठाउँ छैन।

शिवपुरी मावि उत्कृष्ट विद्यालयका रूपमा सम्मानित पनि भएको छ। भौतिक र शैक्षिक दुबै पक्षमा उत्कृष्ट ठहर गरेर काठमाडौं महानगरले २०७३ सालमा सम्मान गरेको प्रधानाध्यापक दूरदर्शीले बताए।

शिवपुरी मावि महानगरको नमूना विद्यालयका रूपमा पनि छनौट भएको छ। महानगरको एक वडा एक नमूना विद्यालयअन्तर्गत वडा नम्बर ३ मा यो स्कुल छनोट भएको हो। ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कुल अवार्ड पनि पाएको उनी बताउँछन्।

यसमा प्रतिस्पर्धा गर्न ब्रिटिस काउन्सिलको कार्यक्रममा सहभागी हुनुपर्छ। शिवपुरी मावि सन् २०२० मा सहभागी भएको थियो। प्रधानाध्यापक दूरदर्शीका अनुसार सिकाइसँग सम्बिन्धित आठ वटा परियोजनामा विद्यार्थी सहभागी भएका थिए। नेपालमा प्राकृतिक प्रकोप, सरुवा रोग, नेवारी खाना, बाईबाई जंकफुड, चिनियाँ भाषा लगायत परियोजनामा शिक्षक र विद्यार्थीले प्रतिवेदन तयार पारेका थिए।

शिवपुरीले पठनपाठनसँगै विद्यार्थीलाई समयानुकूल अतिरिक्त क्रियाकलापमा सहभागी गराउँछ। हरेक शुक्रबार विद्यार्थीहरू विभिन्न खेल, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला, चित्रकला लगायतमा प्रतिस्पर्धा गर्छन्।

यस्ता क्रियाकलापले विद्यार्थीको सिकाइमा सहयोग पुग्ने प्रधानाध्यापक दूरदर्शीको भनाइ छ। विद्यार्थीको नतिजा पनि चित्तबुझ्दो रहेको उनले बताए।

कमजोर विद्यार्थीलाई राम्रो बनाउँछौं। हरेक वर्ष १२० जनाभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुन्छन्, दूरदर्शीले भने, सबैले राम्रो नतिजा हासिल गरेका छन्।

स्कुलको माथिल्लो तलामा पुस्तकालय छ। विद्यार्थीले आफ्नो रूचिको पुस्तक पढ्न पाउँछन्। खानेपानीका लागि  वाटर ट्रिटमेन्ट प्लान्टु जडान गरिएको छ। पानीका कारण विद्यार्थी बिरामी हुने समस्या अन्त्य भएको छ।

विद्यालय हातामै स्वास्थ्य केन्द्र छ। यो केन्द्र शिवपुरी माविको खास विशेषता हो। केन्द्रकी नर्स अनुपमा गिरीका अनुसार यहाँ विद्यार्थीले सामान्य उपचार सेवा पाउँछन्। खासगरी महिनावारीमा पेट दुख्ने, टाउको दुख्ने जस्ता समस्या हुने छात्राले राहत पाउँछन्।

शिवपुरी माविमा जुम्ला, हुम्ला, मुगु लगायतका पश्चिम पहाडका विद्यार्थी धेरै छन्। बिहान–बेलुका काम गरेर पढ्ने विद्यार्थी पनि छन्। यस विद्यालयमा पढेका धेरै विद्यार्थी चिकित्सा, इञ्जिनियनिरङ, प्रशासन लगायत प्रतिष्ठित स्थानमा पुगेका छन्।

प्रधानाध्यापक दूरदर्शीका अनुसार शिक्षकहरूको सामूहिक मेहनेत, विद्यालय व्यवस्थापन समितिको निरन्तरको प्रयास र विद्यार्थीको लगनशीलताका कारण शिवपुरी मावि समुदायमा राम्रो विद्यालयको रूपमा चिनिएको छ।