उपचारका लागि विदेश जाने क्रम हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

  • प्रकाशित मिति : July 25, 2022
  • कान्तिपुर सञ्चार

साउन ९, २०७९ काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न विदेश जाने क्रम हटाउनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ महामारी तथा जनस्वास्थ्यका विषय’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमै सञ्चालित स्वास्थ्य संस्थामा आवश्यक उपचार पाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

समितिका सभापति दिलकुमारी रावल थापाले स्वस्थ्य नागरिक तथा सबल राष्ट्र निर्माणका लागि आम नागरिकले उत्तरदायित्वका साथै जवाफदेहिताको पालना गर्न जरुरी रहेको बताइन् । यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले सन् २०३० सम्ममा मुलुकमा १५ देखि २० हजार स्वास्थ्यकर्मी आवश्यक रहेको उल्लेख गर्दै यसका लागि मन्त्रालय अघि बढ्न जरुरी रहेको बताए ।

मन्त्रालयका प्रवक्ता एवं प्रमुख विशेषज्ञ डा सङ्गीता मिश्रले आगामी दिनमा अभाव हुने स्वास्थ्य जनशक्ति व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.चुमनलाल दासले दुई हप्ताअघिदेखि मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्न सबैमा अनुरोध गरे ।

“यहाँ अन्य मुलुकको तुलनामा राम्रो उपचार सेवा प्रदान गरिन्छ भन्ने कुरा सम्पूर्ण नेपालीको मनस्थितिमा जगाउन जरुरी छ । अन्य देशमा उपचार सेवा लिन जाँदा रकम बाहिरिन्छ”, अध्यक्ष तिमिल्सिनाले भने । आम नागरिकले आफ्नो स्वास्थ्यमा ध्यान दिन र कोभिड–१९ सङ्क्रमणबाट बच्न विगतमा झै अनिवार्य रुपमा मास्क प्रयोग तथा खोप लगाउन जरुरी रहेको उनको धारणा थियो ।

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रमुख डा.राजेश संभाजीराव पाण्डवले मुलुकमा देखिएको हैजा नियन्त्रणका लागि गुणस्तरीय खानेपानीको व्यवस्थापनमा ध्यान दिन अपिल गरे।