उपेन्द्र यादव र अशोक राईको आरोप- बाबुरामजी गलत बाटोमा हिँड्नुभयो

  • प्रकाशित मिति : July 14, 2022
  • कान्तिपुर सञ्चार

असार २९, काठमाडौँ । जनता समाजावादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईले पार्टीविरोधी गतिविधि गरिरहेको बताएका छन्। वीरगन्जमा बुधबारदेखि सुरू केन्द्रीय कमिटी बैठकमा बोल्दै जसपा अध्यक्ष यादवले भट्टराईले जडिबुटीमा अवैधानिक भेला गरिरहेको समेत बताए।

बाबुरामजीले अराजक गतिविधि गर्नुभएको छ। उहाँले सबैतिर भाँड्ने मात्रै काम गर्नुभएको छ। माओवादीमा रहँदा पनि उहाँको शैली यस्तै थियो, यादवले बैठकमा भने, मलाई कारबाही गर्ने हो भने केन्द्रीय समिति बैठकमा आउनु पर्छ। यहाँ आएर बहुमत सदस्यको मत जितेर मलाई हटाएको भए कसले रोक्न सक्थ्योरु तर उहाँले जडिबुटीको औषधि प्रयोग गरिरहनुभएको छ।

यादवले भट्टराईको भेलालाई अवैधानिक भनेको जसपाका केन्द्रीय सदस्य एवम् वनमन्त्री प्रदीप यादवले बताए। पार्टीविरोधी गतिविधि गर्ने र गलत काम गर्नेलाई पार्टीले कारबाही गर्ने समेत यादवले बताएका थिए। जसपाका वरिष्ठ नेता अशोक राईले पनि भट्टराईले विधान विपरीत काम गरिरहेको बताए।

बाबुरामजी गलत बाटोमा हिँड्नुभयो। आफ्ना असन्तुष्टि पार्टीमा नराखी बाहिरबाहिर राख्नुभयो। अवैधानिक ढंगले भेला बोलाइरहनु भएको छ, राईको भनाइ उद्धृत गर्दै वनमन्त्री प्रदीप यादवले भने, विद्वान कहलिने व्यक्तिले पार्टी विधि, विधान र पद्धतिमा चल्छ भन्ने ख्याल गर्न सक्नु भएन। उहाँले च्यारिटी(शो गरेजस्तो ठान्नुभयो।

जसपाको केन्द्रीय कमिटी बैठक वीरगन्जमा बुधबारदेखि सुरू भएको छ। जसपाका कार्यकारिणी सदस्य बाबुराम भट्टराईले मंगलबार र बुधबार काठमाडौंमा कार्यकर्ता भेला गरेका छन्। भट्टराईको भेलामा एक सय २८ केन्द्रीय सदस्य उपस्थित भएको र आफूहरूको केन्द्रीय कमिटी बैठकमा दुई सय ६४ जना सहभागी भएको जसपाका कार्यकारिणी सदस्य एवम् भौतिक मन्त्री मोहम्मद इस्तिहाक राईले दावी गरेका छन्।

वन मन्त्री प्रदिप यादवले पनि साँझसम्म झन्डै तीन सय केन्द्रीय सदस्य वीरगन्ज आइपुगेको दावी गरेका छन्।

भट्टराईको भेलामा भने केन्द्रीय सदस्य, संघीय परिषद सदस्य र प्रदेश कमिटी सदस्यलाई समेत बोलाइएको थियो।