एसपिपीका निर्णयबारे संसदलाई जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ

  • प्रकाशित मिति : July 22, 2022
  • कान्तिपुर सञ्चार

साउन ५, २०७९, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्ष सांसदहरूले एसपिपीको अवस्थाबारे सदनलाई सरकारले जानकारी दिनुपर्ने बताएका थिए।

मन्त्रिपरिषद बैठकले एसपिपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भए पनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन।

सभामुख सापकोटाले सांसदहरूले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका हुन्।

‘एसपिपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाका बारेमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु,’ उनले भने।

एमालेका सांसद भीम रावलले बुधबार पनि एसपिपीबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखले रूलिङ गर्नुपर्ने माग राखेका थिए।