एसपिपीबारे ओलीको टिप्पणी- सार्वजनिक भएको पत्रमा टिपेक्स लगाइएको छ

  • प्रकाशित मिति : June 29, 2022
  • कान्तिपुर सञ्चार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० को सार्वजनिक भएको पत्रमा टिपेक्स लगाइएको दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एसपिपीको सार्वजनिक भएको पत्रमा टिपेक्स लगाएको उनले टिप्पणी गरे।

‘म प्रधानमन्त्री हुनुभन्दा अगाडिको पत्र हुनसक्छ। चलानी नम्बरमा पनि ८५ लेखिएको छ हातले लेखेको छ पहिलेको हटाएर। र पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ, हातले। सबै टाइप छ त्यो पछि हातले किन लेख्नुपर्‍यो भने त्यहाँ टिपेक्स लगाएर त्यसलाई मेटेर हातले लेखेको स्पष्ट हुन्छ,’ उनले भने।

उनले हातले नलेखेको पत्र निकाल्न सरकारलाई चुनौती समेत दिए।

‘हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु। हातले नलेखेको मिति कहिलेको थियो त्यो ल्याउनु,’ उनले भने।

यस्तै, उनले अहिले बाहिर आएको ड्राफ्ट घातक समेत भएको बताए।

सत्ता गठबन्धनको सरकारले एसपिपी पनि पास गर्ने भन्दै गरे पनि पछि जनताले विरोध गरेपछि पछि हटेको उनले बताए।

‘अहिले जुन ड्राफ्ट बाहिर आयो। जो बहुत खतरनाक छ त्यो अहिले नयाँ ड्राफ्ट हो। पहिले यस्तो ड्राफ्ट आएको थिएन र यस्तो ड्राफ्टमाथि कुनै विचार विमर्श भएको थिएन। यस्तो ड्राफ्टको सम्बन्धमा कसैले पत्र लेखेको थिएन। यो नयाँ ड्राफ्ट हो। यो घातक छ,’ उनले भने, ‘ठीक छ पास गर्छौं भन्दै थियो। अलिकति जनताले दबाब दिएपछि पछाडि सरेर हामी पास गर्दैनौं भन्नेमा जानुभयो।’

उनले सत्ता गठबन्धन दलका नेताहरूले एसपिपी केपी ओलीको पालोमा आएको भनेर ढाँटिरहेको बताए।

‘स्टेट पार्टनरसिप प्रोग्राम एसपिपी केपी ओलीको समयमा ल्याएको थियो। अन्तर्राष्ट्रिय रूपमा पनि ढाँटिरहेका छन्। राष्ट्रिय रूपमा पनि ढाँटिरहेका छन्। ओलीको पालामा ल्याएको थियो, अहिले मैले भूमिका खेलेर मैले रोकाएँ भनेर,’ उनले भने,‘योभन्दा बढ्दा ढाँट कुरो, यो भन्दा बढ्ता फट्याइँ कुरा के हुनसक्छ। वास्तवमा गल्ती भयो भने भयो भन्दा भइहाल्यो नि। गल्ती हुनसक्छ स्वीकार्न पाइन्छ।’