एसपीपीबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानसेनापति

  • प्रकाशित मिति : June 17, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौँ — सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापतिलाई एसपीपीबारे छलफल गर्नका लागि बोलाएको हो ।

 

समिति सभापति पवित्रा निरौला खरेलले एसपीपीका विषयमा विभिन्न कुरा सार्वजनिक भएपछि प्रधानसेनापति शर्मालाई स्पष्ट पार्नका लागि बोलाइएको जानकारी दिइन् । ‘एसपीपी कार्यक्रम २०१५ देखि सुरुवात भएको कुरा सार्वजनिक भएको छ । यसको आधिकारीक कुरा के हो ? यसमा सेनाको धारणा के हो ? सन् २०१५, २०१७ र २०१९ मा एसपीपीबारे के-के भएको हो भन्ने बुझ्नका लागि बोलाएका हौं,’ उनले भनिन् ।

 

एसपीपीबारे जानकारीसहित आउन प्रधानसेनापतिलाई पत्राचार गरिएको सभापति खरेलको भनाइ थियो । शुक्रबारको बैठकमा ‘विविध’ कार्यसूचीअन्तर्गत एसपीपीको विषयमा छलफल हुने समितिले जानकारी दिएको छ । उक्त विषयमा छलफल गर्नका लागि रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि संसदीय समितिले पत्र पठाएको छ ।