काठमाडौंमा श्रीमानले आगो लगाउँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

  • प्रकाशित मिति : April 25, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौंमा श्रीमानले आगो लगाएर जलाउँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधारा नजिकै रहेको एक टहरामा गत चैत ११ गते श्रीमानले श्रीमतीमाथि आगो लगाएका थिए।


सिरहा लहान नगरपालिका ७ का ४२ वर्षीय प्रविन चौधरीले आफ्नी ३० वर्षीया श्रीमती अस्मिता चौधरीमाथि तारपिनको तेल खन्याएर आगो लगाइदिएका थिए। सुतिरहेको बेलामा उनीमाथि आगो लगाइदिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले थाहा पाएपछि अस्मिताको उपचारको लागि सुष्मा मेमोरियल अस्पताल साँखु लगिएको थियो। प्रहरीले सोही बेला श्रीमान प्रविनलाई पक्राउ गरेको थियो।

आइतबार राति अस्मिताको उपचारको क्रममा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

यता प्रविन ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा थिए।

घाइतेको मृत्यु भएपछि प्रहरीले मुलुकी अपराध संहिता परिच्छेद १२ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाएको छ।

यस घटनाको अनुसन्धान प्रहरी वृत्त बौद्धले गरिरहेको परिसरले जनाएको छ।