किन रोकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान?

  • प्रकाशित मिति : April 13, 2022
  • कान्तिपुर सञ्चार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हुने भनिएको परीक्षण उडान रोकिएको छ।

आगामी जेठ २ गते बुद्धपूर्णिमाको अवसर पारी व्यवसायिक रूपमा उडान सुरू गर्ने तयारी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भनिएको थियो। तर उक्त उडान स्थगित गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने भन्ने यसअघि जानकारीमा आएको भए पनि अहिले किन स्थगित गरियो भन्ने प्राधिकरणलाई जानकारी नभएको बताए।

‘हामी त अर्कै काममा लागिरहेका छौं, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै जानकारी होला हामीलाई त थाहा छैन,’ उनले भने।

उनले यसअघि पनि नेपाल वायुसेवा निगमले परीक्षण उडान गर्ने भन्ने प्राधिकरणलाई आधिकारिक जानकारी नभएको र अहिले पनि किन रोकियो भन्ने पनि थाहा नभएको बताए।

प्रवक्ता कर्णले प्राधिकरणको डकुमेन्टमा समेत परीक्षण उडान गर्नुपर्छ भन्ने कतै नभएको र यो विषय कहाँबाट आयो भन्ने समेत थाहा नभएको बताए।

‘हाम्रो लागि परीक्षण उडान गर्नुपर्ने आवश्यकता होइन, परीक्षण उडान गर्ने भन्ने बीचमा आएको कुरा हो, हाम्रो डकुमेन्टमा पनि परीक्षण गर्नुपर्छ भन्ने छैन,’ कर्णले भने।

यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले गरेको क्यालिब्रेसन फ्लाइट नै परीक्षण उडान रहेको उनको भनाइ छ।

‘क्यालिब्रेसन फ्लाइट भनेकै परीक्षण उडान हो, जब क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि परीक्षण उडान भयो भनेर बुझ्नुपर्छ,’ उनले भने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले केही दिन पहिलेसम्म वैशाख १ गते वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भन्ने जानकारी गराइएको भए पनि अहिले किन रोकियो भन्ने जानकारीमा नरहेको बताए।

‘भोलि परीक्षण उडान हुन्छ, हुँदैन भन्ने अहिलेसम्म माथिबाट त्यस्तो जानकारी गराइएको छैन,’ रावतले भने।