कोटेश्वरको डेरामा गोली र नक्कली सुन फेला परेको घटनामा फरार दुई पक्राउ

  • प्रकाशित मिति : April 25, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौंको कोटेश्वरको डेरा कोठामा चार राउन्ड गोली र नक्कली सुन फेला परेको घटनामा फरार रहेका दुई पक्राउ परेका छन्।

प्रहरीले यस घटनामा फरार रहेका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँटस्थित एक घरमा डेरा गरी बसेका प्रमिला तामाङ र विशाल गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।

लामो समयदेखि उनीहरू नफर्किएपछि काठमाडौं महानगरपालिकाको प्रतिनिधि र प्रहरी सहितको टोली डेरा कोठा खोल्न गएका थिए।

तर त्यहाँबाट चार राउन्ड गोली र एक किलो सुन जस्तो धातु बरामद भएको थियो। तर सुन चाँदी व्यवसायीले सो सुन नभएको पुष्टि गरेको थियो।

गोली र नक्कली सुन बरामद भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

‘विभिन्न प्रविधि र विधिको प्रयोग गरेर हामीले अनुसन्धान गर्दै जाँदा दुई जनालाई फेला पारेका छौं,’ प्रहरी उपरीक्षक मैनालीले भने।

उनीहरूलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो। प्रहरीले यसबारे सोमबार सार्वजनिक गरेको हो।

प्रहरीले प्रमिलामाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-६ हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ।

त्योसँगै उनी र विशालमाथि ठगी गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाएको छ।

‘उनीहरूले नक्कली सुन देखाएर ठगी गरेको हुनसक्छ। त्यसैले ठगी गरेको भएमा प्रहरी वृत्त बानेश्वरमा सम्पर्क गर्न अनुरोध छ,’ मैनालीले भने।

प्रहरीले उनीहरूको डेराबाट सेनाको जर्सी, नसिलाएको सेनाको कम्ब्याट पोशाक लगायत सामान पनि बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।