कोरिया जाने पर्खाइमा रहेकाहरुलाई छिटो लैजान मन्त्री श्रेष्ठद्वारा कोरियाली पक्षसँग आग्रह

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

२३ फागुन २०७८ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएसअन्तर्गत रोजगारीका लागि कोरिया जान पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा आज कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवाहरु रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले व्यवसायिक उडान खुला गरी छिटो पठाउने प्रवन्ध गर्न कोरियाली पक्षसँग आग्रह गर्नुभयो । अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यवसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् ।

एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको बताउनुभएको थियो । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भएपनि महामारीका कारण समस्या भएको उहाँको भनाइ छ ।

विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उहाँले बताउनुभयो । व्यवसायिक उडान खुला गर्न आवश्यक प्रकृया शुरु गरिएको जानकारी दिनुहुँदै उहाँले छिटो संचालन हुने विश्वास समेत दिलाउनुभयो ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९ सय ८४ जना गइसकेका छन् भने आज १ सय ७४ जना जाँदैछन् । यसपछि मार्च १६ गते १ सय ७० जना जानेछन् ।

नेपालीहरु मेहनती र इमान्दार भएकाले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताउनुभयो । दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दै आउनुभएको छ ।