चालू खर्चलाई ढाकछोप गर्न बजेट बढाइयो : एमाले

  • प्रकाशित मिति : June 21, 2022
  • कान्तिपुर सञ्चार

आगामी आर्थिक वर्षका लागि गत असार १ गते प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको बजेट यथार्थमा आधारित नभएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले चर्को आलोचना गरेका छन् ।  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ३ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।

जसमा चालू तर्फ १ अर्ब २२ करोड ९९ लाख तथा पूँजीगत तर्फ २१ अर्ब ५० करोड ८३ लाख रकम रहेको छ । चालू आर्थिक वर्षमा भने प्रदेश सरकारले चालूतर्फ १३ अर्ब ६२ करोड ५९ लाख तथा पूँजीगततर्फ १५ अर्ब ९३ करोड १६ लाख गरी कूल २९ अर्ब ५४ करोड ७३ लाख (संशोधित अनुमान) बजेट ल्याएको थियो ।

गत वर्षभन्दा प्रदेश सरकारले यस पटक चालू खर्च मात्रै ४ अर्ब ६० करोड बढी बजेट छुट्याएको छ । एमाले सांसदहरुले भने प्रदेश सरकारले आधार र तथ्य बिना चालू खर्चलाई ढाकछोप गर्न बजेटको आकार बढाइएको बताएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा भएको बजेट माथिको छलफलमा भाग दिँदै एमाले सांसद लछुमन तिवारीले चालू आर्थिक वर्षभन्दा ६ अर्ब ६६ करोड रुपैयाँ बजेट वृद्धि हुने आधार के हो भन्ने प्रश्न गरे । प्रदेश सरकारले भने बजेटको आम्दानीको स्रोत भनेको करबाट १४ अर्ब ४६ करोड ४५ लाख, संघीय सरकारबाट आउने वित्तीय अनुदान १९ अर्ब ३५ करोड, अन्य राजस्व १ अर्ब ५८ करोड, विविध प्राप्तिबाट ४ अर्ब ३३ करोड उल्लेख गरेको छ ।

तर, सरकारले  सम्पत्ति कर १ अर्ब २५ करोडलाई आगामी वर्ष २५ करोड वृद्धि गरेर १ अर्ब ५० करोड पुग्ने आँकलन गरेको छ । ‘वस्तु तथा सेवामा आधारित करमा २ अर्ब ८० करोड रकम वृद्धिको अनुमान गरिएको छ । गत वर्ष १० अर्ब १६ करोड संशोधित अनुमान गरिएकोमा आगामी आर्थिक वर्ष १२ अर्ब ९६ करोड प्रस्तावित गरिएको छ । यो आधार के हो ?,’ तिवारीले प्रश्न गरे, ‘आधार बिना यो अंक लेख्न पाइँदैन । अन्य शुल्कको हिसाबमा २ अर्ब १५ करोड संशोधित अनुमान छ । आगामी वर्ष ३ अर्ब १४ करोड अनुमान गरिएको छ । झण्डै ४६ प्रतिशत वृद्धि कसरी सम्भव छ । भ्याटमा २७.५ प्रतिशतको वृद्धि कसरी सम्भव छ ?’

तिवारीले आन्तरिक राजस्व वृद्धि गर्नका लागि बजेटमार्फत त्यस्ता बलियो आधार नदेखेको पनि बताए । ‘त्यस्तो आधार नहुँदा नहुँदै ६ अर्ब ६६ करोड बढाइएको छ,’ तिवारीले भने, ‘यो जबर्जस्त ढंगबाट चालू खर्च बढी देखिने र पूँजीगत खर्च कम हुने त्रासको हिसावले मनोमानी ढंगले बजेट वृद्धि गरिएको छ । यो तथ्यको आधारमा बजेट छैन । यथार्थ धरातलमा छैन । बजेट जहिल्यै तथ्यको आधारमा हुनुपर्छ ।’

तिवारीले यथार्थमा आधारित बजेट नभएको भन्दै यसको अवस्था प्रदेशको संचित कोषको अवस्थाले पनि देखिएको बताए । ‘प्रदेश संचित कोषमा २० अर्ब २९ करोडको अनुमान गरेका छौं । त्यसमा हामीले १४ अर्ब ८७ करोड पैसा चालूमा राखेका छौं र त्यसमा झण्डै १० अर्ब ८४ करोड रुपैयाँ पैसा प्रदेशको तर्फबाट खर्च गर्ने गरी राखिएको छ,’ तिवारीले भने, ‘साढे ३ अर्ब पैसा वित्तीय हस्तान्तरण अन्तर्गत तल जान्छ । त्यसरी हेर्ने हो भने प्रदेश संचित कोषलाई मात्रै आधारलाई मानेर पूँजीगत र चालू खर्चको प्रतिशतको ढाँचामा हेर्ने हो भने ७५ प्रतिशत चालू खर्च हुन्छ ।’

प्रदेशसभामा बोल्दै प्रदेश १ का पूर्व अर्थमन्त्रीसमेत रहेका सांसद तुलसीप्रसाद न्यौपानेले पनि स्रोत व्यवस्थापन बेगर बजेटको आकार बढाएको भन्दै यसलाई हावादारीको संज्ञा दिए । एमालेकै सांसद राजकुमार ओझाले पनि ६ महिने सरकारले १० वर्षे कृषि रणनीति बनाउन पाउँदैन भन्दै बजेट यथार्थमा आधारित नभएकोमा जोड दिएका छन् । प्रदेशसभामा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल सकिएको छ । अर्को बैठक मंगलबार पुनः बस्नेछ ।