ट्रम्पको घरमा एफबीआईको छापा

  • प्रकाशित मिति : August 10, 2022
  • कान्तिपुर सञ्चार

साउन २४, काठमाडौ । वासिङ्टन — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा संघीय जाँच ब्युरो (एफबीआई) ले छापा मारेको छ । ट्रम्पले एक वक्तव्य जारी गर्दै लोरिडास्थित मार–ए–लागो रिसोर्टमा रहेको घर ‘एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ जनाएका छन् । अमेरिकी समाचार संस्था सीबीएस न्युजले आधिकारिक कागजपत्रहरूको विषयमा ट्रम्पको घरमा छापा मारिएको जनाएको छ ।

अमेरिकी संसद् भवनमा गत वर्ष भएको हिंसात्मक घटनाका विषयमा पनि ट्रम्पमाथि अमेरिकी संसद्ले छानबिन गरिरहेको छ । सीएनएनका अनुसार एफबीआईले सोमबार छापा मारेको समयमा ट्रम्प भने न्युयोर्कस्थित ट्रम्प टावरमा रहेका थिए ।

राष्ट्रिय अभिलेखालयको विवरणसँग सम्बन्धित अनुसन्धानमा ट्रम्पको घरमा छापा मारिएको जनाइएको छ । उनी राष्ट्रपति हुँदाका बखतका महत्त्वपूर्ण सरकारी कागजात ट्रम्पले आफ्नो घरमा लुकाएका जनाइएको छ । तर ट्रम्पले उक्त आरोपको खण्डन गरेका छन् ।

ट्रम्पका वरिष्ठ सल्लाहकारले राष्ट्रपतीय अभिलेखसँग सम्बन्धित विषयमा ट्रम्प निवासमा छापा मारिएको बताएका छन् । छापा मार्ने क्रममा एफबीआईले निकै कम मात्र जानकारी प्राप्त गरेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो । अमेरिकी राष्ट्रपतिले सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेल राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

‘यो हाम्रो देशका लागि कालो समय हो,’ ट्रम्पले भनेका छन् । सबै सरकारी निकायसँग आफूले समन्वय गरेको दाबी गर्दै ट्रम्पले ‘पूर्वजानकारीबिना छापा मारिएको र उक्त कार्य अनावश्यक र अनुचित भएको’ दाबी गरेका छन् ।

अमेरिकामा सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा आफूलाई उम्मेदवार बन्न नदिन ‘न्याय प्रणालीलाई हतियारका रूपमा प्रयोग गरिएको’ ट्रम्पको आरोप छ । उनले यस्ता आक्रमण तेस्रो विश्वमा मात्र हुने गरेको दाबी गरे । ‘दुःखको कुरा अमेरिका जस्तो देशमा पनि यस्तै भएको छ । उनीहरूले मेरो सेफ पनि फुटाए,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पको घरमा छापा मार्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई पनि जानकारी नदिइएको अधिकारीको भनाइ छ । यसबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा भएको ह्वाइटहाउसका एक अधिकारीले बताए ।