ताइवानमा तनाव : नेपालमा कस्तो पर्न सक्छ असर ?

  • प्रकाशित मिति : August 4, 2022
  • कान्तिपुर सञ्चार

साउन १९, काठमाडौँ । ताइवान मामिलामा अमेरिका र चीन* आमनेसामने भएको अवस्थामा त्यसको बाछिटा नेपालसम्म आउँछ कि आउँदैन भन्नेबारे कूटनीतिक वृत्तमा चर्चा हुन थालेको छ । चीन नेपालको निकट छिमेकी मुलुक हो भने अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुरानो भइसकेको छ । ती दुवै शक्ति राष्ट्रबीच द्वन्द्व बढेको अवस्थामा नेपाल त्यसबाट अछुतो रहन नसक्ने कूटनीतिक मामिलाका जानकार बताउँछन् ।

चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका–चीन सम्बन्ध थप चिसिएको मात्र होइन, ताइवानको वरिपरि चीनले सैन्य अभ्यासमार्फत शक्ति प्रदर्शन गरिरहेको छ ।

रुस र युक्रेनबीच युद्ध चलिरहेको समयमा अमेरिका र चीनबीच बढेको पछिल्लो तनावपूर्ण घटनाक्रमले विश्व समुदायलाई चिन्तित तुल्याएको छ । चीनको निकट छिमेकी मुलुक भएको नाताले चीन–अमेरिका द्वन्द्वले स्वाभाविक रूपमा नेपालमा भू–राजनीतिक प्रभाव पार्ने कूटनीतिक क्षेत्रका ज्ञाता बताउँछन् ।

चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की यस्तो अवस्थामा नेपालले तटस्थता अपनाउनु नै उत्तम उपाय हुने तर्क गर्छन् । ‘हाम्रोजस्तो मुलुकले निर्वाह गर्नुपर्ने भूमिका भनेको तटस्थता नै हो,’ रातोपाटीसँग उनले भने, ‘असंलग्नताको आदर्शमा जति बढी प्रतिबद्ध भयो, दीर्घकालीन रूपमा त्यति बढी लाभ हुन्छ ।’

​उनका अनुसार अहिले छद्म युद्धको तयारीमा लामबन्दी सुरु भएको छ । ‘पश्चिमा शक्तिहरू आफ्नो अतीतको पोजिसन स्थापित गर्न खोज्ने, बहुध्रुवीय शक्तिहरू भने त्यसबाट पिण्ड छुटाउन कोसिस गरिरहेका छन्,’ उनले भने, ‘यो रस्साकस्सीमा हामीजस्ता राष्ट्रलाई तान्न कोसिस भइरहेको ५–६ महिनादेखिका घटनाक्रमले देखाइरहेका छन् ।’

उनले कहीँ न कहीँ ‘सनफ्रान्सिस्को कन्फ्रेन्स’ को अर्को शृङ्खला नभईकन अहिलेको ‘वर्ल्ड अर्डर’ स्थापित हुन्छजस्तो आफूलाई नलागेको बताए । संयुक्त राष्ट्रसंघजस्ता विश्व ‘गभर्निङ बडी’ हरू निरर्थक भइरहेको अहिलेको अवस्थामा ‘वर्ल्ड अर्डर’ स्थापित गर्न र मानव जातिले त्यसको लाभ लिन अर्को ‘सनफ्रान्सिस्को कन्फ्रेन्स’ नभई यो परिस्थिति साम्य होलाजस्तो आफूलाई नलागेको उनले बताए ।

नेपाल सामु चुनौती

पूर्व राजदूत कार्कीका अनुसार अमेरिका–चीन तनाव बढ्दै जाँदा नेपालमा सामरिक, आर्थिक र सामाजिक क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ ।

‘दुई महाशक्ति राष्ट्रबीच यस्ता द्वन्द्व हुन्छ भने त्यसको प्रभाव स्वाभाविक रूपमा नेपाललाई पर्छ,’ उनले भने, ‘त्यसमा पनि चीन हाम्रो छिमेकी मुलुक हो । रुस र युक्रेनबीचको युद्धको प्रभाव त यहाँसम्म परेको छ भने चीन र अमेरिकाबीच त्यस्तो भएको अवस्थामा नेपाल अछुतो रहन्छ भन्ने हुँदैन ।’

रुस–युक्रेन युद्धको प्रभाव विश्व अर्थतन्त्रमा देखा परिसकेको तर्क गर्दै उनले युरोपमा ११ प्रतिशत मानिसले एक छाकमात्र खान थालेको समाचार प्रकाशमा आइरहेको बताए । युरोपमा यसको प्रभाव अझ बढ्ने खतरा देखिएको उनको भनाइ छ । ‘हिउँद आउँदैछ, रुसले युरोपका लागि ग्याँस आपूर्तिमा कटौती गरिरहेको छ, युरोपमा हिउँदको समयमा ठन्डीमा कति मान्छे मर्ने हुन्,’ उनले भने ।

यही अवस्थामा चीन र अमेरिका आमनेसामने हुँदा विश्व अर्थतन्त्र थप नराम्ररी प्रभावित हुने उनको आकलन छ । त्यसबाट स्वाभाविक रूपमा नेपाल अछुतो रहन नसक्ने उनले बताए ।

​कार्कीका अनुसार चीन नै अमेरिकाको एक नम्बर प्रतिद्वन्द्वी शक्ति हो भन्ने प्रस्ट छ । ‘अहिलेको अमेरिकी वर्चश्वको विश्व व्यवस्थालाई चुनौती दिने एक नम्बरको प्रतिद्वन्द्वी शक्ति चीन नै हो भन्ने प्रस्ट छ,’ उनले भने, ‘त्यसैले चीनको विरुद्धमा अमेरिकाले सारा शक्ति, स्रोत र सम्भावनाहरूलाई प्रयोग गरिरहेको छ । अमेरिकाले चीनको स्वशासित क्षेत्र तिब्बतमा नेपाललाई उपयोग गरेर दनक दिन कोसिस गरिरहेको छ ।’

हामीले कहाँ गल्ती गर्‍यौँ ?  

कार्कीका अनुसार पछिल्लो समय कूटनीतिक मामिलामा नेपालले एकपछि अर्को गल्ती गर्दै आएको छ । ‘पहिला त हामी एमसीसीमा आयौँ । रुस–युक्रेन युद्धमा हामी रुसविरुद्धको निन्दा प्रस्तावमा सामेल भयौँ, जबकि चीन, भारतजस्ता मुलुक तटस्थ बसेको अवस्थामा नेपालले अमेरिकाको पक्षमा उभिएर निन्दा प्रस्तावमा सामेल हुन के जरुरी थियो ?’ उनले प्रश्न गरे ।

हाम्रो भूराजनीतिक अवस्था, हाम्रा हितहरूले हामीलाई असंलग्नता र तटस्थतामा बस्न नै उत्प्रेरित गर्छ, त्यो भन्दा अर्को बाटो हामीसँग छैन भनेर प्रस्ट रूपमा अमेरिकालाई नेपालले भन्नु पर्थ्यो भन्ने उनको तर्क छ ।

अहिले चीन, रुस र पश्चिमा दुनियाँसँग पनि नेपालको विश्वासको सङ्कट पैदा भएको उनले बताए । उनले भने, ‘कसले कतिबेला दबाब दिन्छ र नेपाल कता लाग्छ भन्ने अनिश्चयको अवस्था छ ।’

अमेरिका–चीनबीचको सम्बन्ध थप तनावपूर्ण भएको अवस्थामा एकातिर अमेरिकाले नेपाललाई कस्दै लैजाने र चीनले पनि त्यसबाट सतर्क रहँदै नेपाललाई नै कस्न थाल्ने उनले बताए ।