तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित

काठमाडाैं | चैत २३, २०७९

  • प्रकाशित मिति : April 6, 2023
  • कान्तिपुर सञ्चार

अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गर्नुभएको रेफ्री ढकालले बताउनुभयो । युरोपेली देशमा सञ्चालन हुने विश्व बरियताका खेलमा निर्णायकको भूमिकामा रहनुभएका ढकाल नेपालको प्रतिनिधित्व गर्दै अष्ट्रियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि त्यहाँ पुग्नुभएको हो । ढकाल स्पेनको अलिकान्टे सहरमा सञ्चालन हुने प्रतियोगितामा समेत सहभागी हुने बताइएको छ । केही महिनाअघि ढकालले उज्वेकिस्तानको तास्कन्दमा ‘पेरिस ओलम्पिक, २०२४’ को अन्तर्राष्ट्रिय रेफ्री छनोट तालिममा सहभागी हुनुभएको थियो । उहाँले यसअघि बेल्जियम, स्पेन, फ्रान्स, पाकिस्तान, जर्मनी र चीनमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।