त्रिवि उपकुलपतिलाई क्रान्तिकारीले बुझायो ११ बुँदे मागपत्र

  • प्रकाशित मिति : August 3, 2022
  • कान्तिपुर सञ्चार

साउन १८, काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयलाई ११ बुँदे मागपत्र बुझाएको छ । सङ्गठनको केन्द्रीय समितिको निर्णयअनुसार मंगलबार मागपत्र बुझाइएको हो ।

पछिल्लो समय खोज, अध्ययन र अनुसन्धानको केन्द्र बन्नुपर्ने नेपालको पहिलो र ठूलो त्रिभुवन विश्वविद्यालय राजनीतिक भागबण्डाको चक्रब्यूहमा फसेर दिनप्रतिदिन धराशयी बन्दै गइरहेको कुरा क्रान्तिकारी बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

साथै वार्षिक कार्यतालिकाअनुसार व्यवस्थित पठनपाठन, परीक्षा र परीक्षाफल प्रकाशित नहुनु, वरिष्ठता, योग्यता र क्षमताका आधारमा नभई राजनीतिक दलका कार्यकर्ता भर्ती गरिनु, सङ्गठनको आवरणमा हुने गुण्डागर्दी, कमिसनको खेलमा भइरहेको त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण र दुरुपयोग, आर्थिक चलखेलमा हुबहु प्रश्नपत्र दोहोरिने र सम्बन्धन दिनेलगायत घटनाहरूले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर र विश्वसनीयता खस्कँदो रहेको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।

अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज गोविन्द विष्टका अनुसार त्रिविका सबै आङ्गिक क्याम्पसहरूमा कार्यतालिकाअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न माग गरिएको छ । नेपाली भाषाको रक्षा र विद्यार्थीहरूको असहजतालाई ध्यान दिँदै त्रिविका सबै क्याम्पसहरूमा तयार गरिने प्रश्नपत्रहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार गर्न माग  गरिएको विष्टले बताए ।

यस्ता छन् मागहरु :

१) केन्द्रीय क्याम्पसलगायत त्रिविका सबै आङ्गिक क्याम्पसहरूको पठनपाठन नियमित र व्यवस्थित गरी वार्षिक कार्यतालिकाअनुसार परीक्षा र परीक्षाफल प्रकाशित गरियोस् ।

२) त्रिविलाई राजनीतिक दलको अखडा बनाइएको छ । वरिष्ठता, योग्यता र क्षमताका आधारमा आवश्यक दरबन्दी पूर्ति गर्नुको साटो दलका कार्यकर्ता भर्ती गर्ने र स्थायी गर्ने प्रवृत्तिले त्रिवि धराशयी बन्दै गइरहेको छ । तत्काल आंशिकलाई करार र करारलाई स्थायी गर्ने चक्र बन्द गरी सेवा आयोगमार्फत दरबन्दी परिपूर्ति गरियोस् ।

३) त्रिविमा लामो समयसम्म भइरहने तालाबन्दी र हडतालले शैक्षिक वातावरण खल्बलिएको छ । विद्यार्थीका जायज मागहरू तत्काल सम्बोधन गर्ने संयन्त्र खडा गरी विश्वविद्यालय सधैँ खुला गरियोस् ।

४) त्रिविको जग्गा भूमाफियाहरूको साँठगाँठमा अतिक्रमण र भाडामा दिने नाममा व्यापक दुरुपयोग भइरहेको छ । तत्काल भाडा सम्झौता खारेज गरी सार्वजनिक सम्पत्तिको संरक्षण गरियोस् । साथै त्रिविको केन्द्रीय क्याम्पसमा भइरहेको गौचरन र डम्पिङसाइट तत्काल बन्द गरियोस् ।

५) त्रिविअन्तर्गतका सबै क्याम्पसहरूमा दिइने छात्रवृत्ति प्रतिशत वृद्धि गरी छात्रवृत्ति पारदर्शी ढङ्गले लक्षित वर्गलाई उपलब्ध गराइयोस् ।

६) पछिल्लो समय त्रिविमा सङ्गठनको आवरणमा अनैतिक र आपराधिक गतिविधिहरू भइरहेका छन् । बेलाबेला दिइने धम्की र प्रेम चलाउनेमाथि भएको साङ्घातिक हमला यसका ज्वलन्त उदाहरण हुन् । आपराधिक गतिविधिलाई निरुत्साहित गर्दै शान्त तथा भयरहित वातावरणमा अध्ययन, अध्यापन गर्ने वातावरण सिर्जना गरियोस् ।

७) त्रिविका सबै आङ्गिक क्याम्पसहरूमा पुस्तकालय थप व्यवस्थित गरी लाइब्रेरीको व्यवस्था गरियोस् ।

८) त्रिविका सबै आङ्गिक क्याम्पसहरूमा कार्यतालिकाअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गरियोस् ।

९) विद्यार्थीको चाप धेरै भएका कार्यक्रमहरू आर्थिक प्रलोभनमा परी निजी कलेजलाई सम्बन्धन दिने कार्य तत्काल बन्द गरी त्रिविका आङ्गिक क्याम्पसहरूमा विद्यार्थीको चाप र आवश्यकता भएका कार्यक्रमहरू सञ्चालन गरियोस् ।

१०) त्रिविका आङ्गिक क्याम्पसहरूमा मापदण्डविपरीत गरिने भौतिक निर्माणहरू कडाइपूर्वक नियन्त्रण गरी उपयुक्त खेलमैदान र खेल सामग्रीको व्यवस्था गरियोस् ।

११) पछिल्लो समय नेपाली भाषामाथि निरन्तर अतिक्रमण भइरहेको छ । नेपाली भाषाको रक्षा र विद्यार्थीहरूको असहजतालाई ध्यान दिँदै त्रिविका सबै क्याम्पसहरूमा तयार गरिने प्रश्नपत्रहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार गरियोस् ।