थाइल्यान्डको तेस्रो डिभिजनको क्लबसँग एनआरटीले खायो पाँच गोल

  • प्रकाशित मिति : July 8, 2022
  • कान्तिपुर सञ्चार

प्रि-सिजन भ्रमणमा रहेको नेपालको ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले अर्को हार बेहोरेको छ।

एनआरटीलाई बिहीबार भएको खेलमा थाइल्यान्डको तेस्रो डिभिजनको लिग खेल्ने क्लब कसेम बुन्डित युनिभर्सिटी एफसीले ५-२ गोलले पराजित गर्‍यो।

एनआरटी मलेसियाको भ्रमण सकेर थाइल्यान्ड पुगेको हो। अब एनआरटीले चोनबुरी एफसीसँग आइतबार र थोनबुरीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ।

थाइल्यान्ड जानुअघि एनआरटीले मलेसियामा टिवाइटी कप खेलेको थियो।

जसमा मलेसिया पहिलो खेलमा इन्डोनेसियाको दोस्रो डिभिजनको क्लब कारोसँग ५-१ र दोस्रो खेलमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग ५-० गोलले पराजित भएको थियो।

मलेसिया भ्रमणमा दुवै खेलमा पाँच गोल खाएको एनआरटीले थाइल्यान्डमा खेलेको पहिलो खेलमा पनि पाँच गोल खायो।

 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७९,