देशद्रोहको आरोपमा युक्रेनका सुरक्षा एजेन्सी प्रमुख र मुख्य अभियोजनकर्ता बर्खास्त आफ्नै पूर्व कर्मचारी युक्रेनविरूद्ध काम गरिरहेका छन्- जेलेन्स्की

  • प्रकाशित मिति : July 18, 2022
  • कान्तिपुर सञ्चार

साउन २, दोलखा । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले देशद्रोहको आरोपमा दुई जना बरिष्ठ अधिकारीलाई बर्खास्त गरेका छन्।

जेलेन्स्कीले युक्रेनको सुरक्षा एजेन्सी एसबीयू को प्रमुख र मुख्य अभियोजनकर्तालाई देशद्रोहको आरोपमा बर्खास्त गरेका हुन्।

राष्ट्रपति जेलेन्स्कीले युक्रेन विरूद्ध काम गरेको आरोपमा सुरक्षा एजेन्सी प्रमुख इभान बाकानोभ र मुख्य अभियोजनकर्ता इरिना भेनेडिक्टोभालाई बर्खास्त गरेका हुन्।

बर्खास्तीसँगै राष्ट्रपति जेलेन्स्कीले उनीहरूबिरुद्ध ७ सय ११ वटा देशद्रोहका मुद्दा लगाएको बिबिसीले जनाएको छ।

एसबीयूका प्रमुख इभान बाकानोभ जेलेन्स्कीका बाल्यकालका साथीसमेत हुन्।

आइतबार एक भिडियो जारी गर्दै जेलेन्स्कीले देशको सुरक्षा विरूद्धको यस्ता अपराध हुनु धेरै गम्भीर भएको बताएका छन्।

उनले राज्यको राष्ट्रिय सुरक्षाको बिरूद्ध अपराधको आडमा हिडेको भन्दै यस्ता अपराध गर्ने जो कोही पनि कानूनको दायरामा ल्याउने चेतावनी दिएका छन्।

उनीहरू बर्खास्त भएसँगै राष्ट्रपति जेलेन्स्कीका विश्वासपात्र ओलेक्सी सिमोनेन्कोलाई नयाँ अभियोजनकर्ता नियुक्त गरेका छन्।

यस्तै राष्ट्रपति जेलेन्स्कीले भारतका लागि युक्रेनका राजदूत इगोर पोलिखालाई पनि बर्खास्त गरेका छन् ।

पोलिखा भारत र अन्य युरोपेली देशहरूसँग कूटनीतिक सम्बन्धको बृहत् अनुभव भएको युरोपको सबैभन्दा वरिष्ठ राजदूतको रूपमा चिनिन्छन्।

पोलिखाले आफ्नो असाधारण लामो कार्यकाललाई ध्यानमा राख्दै यो आदेशबाट आफू अचम्मित वा निराश नभएको प्रतिक्रिया दिएका छन्।