देशभर १६ हजार बढीले दिए उम्मेदवारी, कुन जिल्लामा कति पर्‍यो उम्मेदवारी?

  • प्रकाशित मिति : April 25, 2022
  • कान्तिपुर सञ्चार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि १६ हजार बढीले उम्मेदवारी दिइसकेका छन्।

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १२ बजेसम्ममा १६ हजार ५६८ जनाले उम्मेदवारी दिएका हुन्।

प्रमुखमा ७६८, अध्यक्षमा ६१४, उपप्रमुखमा ३८३, उपाध्यक्षमा ३३४, वडाध्यक्षमा ४ हजार ४३९, महिला सदस्यमा २ हजार ५४१ र दलित महिला सदस्यमा २ हजार ५९ जनाले उम्मेदवारी दिएका हुन्।

अहिलेसम्म सबभन्दा धेरै उम्मेदवारी मधेश प्रदेशमा परेको छ। त्यहाँ ५ हजार ४९ जनाले उम्मेदवारी दिएका छन्।

लुम्बिनीमा ३ हजार ५३२, प्रदेश १ मा २ हजार ९९२, बागमतीमा २ हजार २७०, गण्डकीमा १ हजार ३९, सुदूरपश्चिममा १ हजार ३७ र कर्णाली प्रदेशमा ६४९ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।

यस्तै, काठमाडौंमा २०३ जनाको उम्मेदवारी परेको छ। प्रमुखमा ५८, उपप्रमुखमा २२, वडाध्यक्षमा ६३, महिला सदस्यमा १४, दलित महिलामा ७ र सदस्यमा ३९ जनाको उम्मेदवारी परेको हो।

भक्तपुरमा १५ जना प्रमुख, ४ जना उपप्रमुख, १७ जना वडाध्यक्ष,  एक जना महिला सदस्य र तीन जना सदस्य गरी जम्मा ४० जनाको उम्मेदवारी परेको छ।

त्यस्तै, ललितपुरमा प्रमुखमा १३ जना, अध्यक्षमा १ जना, उपप्रमुखमा ५ जना, वडाध्यक्षमा ३५ जना, महिला सदस्यमा १७ जना, दलित महिला सदस्यमा ६ जना र सदस्यमा ४१ जनाको गरी जम्मा ११८ जनाको उम्मेदवारी परेको हो।

आयोगले सोमबार साँझ ५ बजे सम्म मनोनयन दर्ताको समय तोकेको छ। आजै उम्मेदवारी दर्ता भएका नामावली सूची प्रकाशन गर्ने आयोगको तयारी छ।

वैशाख १३ बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।

वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ। १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

१६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ।

त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

१७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।

वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ।