धनीलाई थाहा नदिई अर्कैलाई जग्गा बेच्ने घटनामा १३ जना दोषी ठहर

  • प्रकाशित मिति : July 7, 2022
  • कान्तिपुर सञ्चार

जग्गाधनीलाई थाहा नदिई अरूलाई जग्गा बेचिदिने मालपोतका कर्मचारीसहित १३ जनालाई सुर्खेत जिल्ला अदालतले कसुर ठहर गरेको छ। न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालयका चार जना कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको हो।

वीरेन्द्रनगर–२ का सहवीर कार्की, वीरेन्द्रनगर–६ गणेशचोकका अमरसिंह कटुवाल, वीरेन्द्रनगर–६ कै सन्तोष ठाकुर, वीरेन्द्रनगर–२ का गोरख भनिने गणेश बुढा, वीरेन्द्रनगर–४ का निर्मल पुरीलाई ठगी गरेको कसूरमा दोषी ठहर गरिएको छ।

यो घटनामा मुछिएकी सुनित राना, मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप साउद, कम्प्युटर अपरेटर गणेश विक, कृष्ण बहादुर थापा, दीपेन्द्र श्रेष्ठ र तिर्थराज महतारालाई किर्ते गरेकोमा दोषी ठहर गरिएको छ। वीरेन्द्रनगर–१२ रामकुमार दर्लामी र उत्तम अधिकारीलाई पनि किर्ते गरेकोमा दोषी ठहर गरिएको छ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१२ साविक जर्बुटा वडा नम्बर–३ (क) मा रहेको कित्ता नम्बर ३१११ को जग्गा २०७७ असार ८ गते जग्गाधनीलाई थाहै नदिई कित्ताकाट गरिएको थियो। उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको नाममा थियो।

२०७७ पुस २९ गते रावतले जग्गाको नक्सापास निकाल्दा जग्गा अर्कैको नाममा नामसारी भएको थाहा पाएका थिए। त्यति बेलासम्म उनको जग्गा ६ कित्तामा बाँडिएको थियो।

दैलेखको महाबु गाउँपालिका–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहवीर कार्कीको नाममा उक्त जग्गा नामसारी भएको पाइएको जग्गाधनी रावतले बताए। रावतका अनुसार ६ कट्ठा क्षेत्रफल भएको उक्त जग्गाको पछाडिको भाग छोडेर मूल बाटोको ५० मिटर मोहडामा पर्ने जग्गा कार्कीको नाममा गएको थियो।

उक्त घटनापछि जग्गाधनी रावतले जाहेरी दिएका थिए। सौगात रावतको जाहेरीमा नेपाल सरकारले १९ जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरेको थियो।

अभियुक्तका रूपमा तत्कालीन समयमा नापी कार्यालय सुर्खेतमा कार्यरत प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामी र मालपोत कार्यालय सुर्खेतका तत्कालीन कार्यालय प्रमुख लक्ष्मी खत्री पनि थिए।

अब अर्को हप्ता तोकिएको पेसीबाट कसुर ठहरिएकाहरूलाई सजायको फैसला हुनेछ।