नागरिकता विधेयक टाउको गनेर निर्णय गर्ने विषय होइन- एमाले

  • प्रकाशित मिति : August 18, 2022
  • कान्तिपुर सञ्चार
 भदौ २, काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गरेको छ।

बिहीबार राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा पुनः छलफलमा भाग लिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनमत विभाजित नगर्न आग्रह गर्दै राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन्।

उनले सत्तासँग बहुमत भए पनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै जबर्जस्ती गरेर टाउकोको गन्तिका आधारमा गर्ने हो भने यसको दुश्परिणाम राम्रो नहुने चेतावनी दिए।

‘यस्तो संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्ने काम गर्नु उचित हुन्न। हामीलाई अहिले एउटा अवसर प्राप्त भएको छ। छिटोभन्दा छिटो यो टुंग्याउनु जरूरी छ’, उनले भने, ‘यसमा प्रमुख प्रतिपक्ष दल रचनात्मक ढंगाले सहयोग गर्न तयार छ। तर यसलाई जबरजस्ती गरेर टाउकाको गन्ती गरेर यसको आधारमा गरियो भने यसका परिणाम र दुश्परिणामहरू राम्रो हुँदैनन्।’

उनले टाउकाको गणनाका आधारमा २०३५ सालमै राजा वीरेन्द्रले पञ्चायतालाई जिताएको स्मरण गर्दै राजा वीरेन्द्रको त्यो अडान नटिकेकाले टाउकाको गणना ठूलो कुरा नभएको र विवेकको गणनाका सबैभन्दा ठूलो कुरा भएको स्पष्ट पारे।

उनले जबरजस्ती र जिद्दी तरिकाले नागरिकता विधेयक अगाडि बढाएमा समाज विभाजित हुने र यसले गम्भीर रूप लिनेतर्फ सचेत गराए।

उनले संसद नियमावलीको दफा १११ को उपदफा १०७ अनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताए।

राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उनले जनमत विभाजित गर्ने काम नगर्न आग्रह गरे।

‘हेड काउन्ट होइन। साझा निष्कर्ष निकाल्ने गरी अवसरको रूपमा लिइयोस्’, उनले भने,‘जबरजस्ती र जिद्दी तरिकाले नगरियोस्।’