नागरिकता विधेयक फिर्ता पठाएपछि तरूण दलले माग्यो राष्ट्रपतिको राजीनामा राजीनामा नदिए महाअभियोग लगाउन आग्रह

  • प्रकाशित मिति : August 15, 2022
  • कान्तिपुर सञ्चार

साउन ३०, काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ।

संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले आइतबार पुन: संसदमै फिर्ता पठाएकोले तरूण दलले राजीनामा मागेको छ।

विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘नागरिकताविहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भर्त्सना गर्दछ,’ अध्यक्ष गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद र सरकारसँग तरूण दल केन्द्रीय समिति आग्रह गर्दछ।’