नेकपा एकता राष्ट्रिय अभियानबाट बामदेव गौतम आफैं निस्कासनमा परे

  • प्रकाशित मिति : July 3, 2022
  • कान्तिपुर सञ्चार

कम्युनिस्ट पार्टी एकता गर्ने घोषणाका साथ गठन भएको बामदेव गौतम नेतृत्वको ‘नेकपा एकता राष्ट्रिय अभियान’ बाट उनी आफैं निस्कासन भएका छन्।

एक साताअघि मात्र गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दा उनलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले साथ दिएका थिए। तर आफूहरूलाई देखाएर गौतमले जथाभावी गर्न खोजेको भन्दै चार पार्टीले उनलाई निकालेका हुन्।

गौतमलाई हटाएर उनको ठाउँमा समाजवादी केन्द्रका सर्वोच्च नेता युवराज सफल आएका छन्।

सांगठनिक अराजकता, निरंकुश तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेकाले गौतमलाई कारबाही गरेको आम पार्टी नेपालका अध्यक्ष निलकण्ठ पौडेलले  बताए।

‘सम्पूर्ण बामपन्थी र समाजवादी शक्तिलाई एक ठाउँमा जोड्ने गरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरिएकोमा सत्ता र शक्ति र पदका लागि बार्गेनिङको माध्यम बनाइयो,’ पौडेलले भने, ‘यो अभियानलाई देखाएर उहाँले केपी ओली, प्रचण्ड (पुष्पकमल दाहाल) र माधव नेपाललाई भेट्नुभयो।अहंकारवादी सोच अनि जालझेल, छलछाम र तिकडमबाजी कार्यशैली अपनाउनुभयो। यसमा आबद्ध दलको शक्तिको आडमा यिनै दललाई सक्ने खेल खेल्नुभयो। त्यसैले उहाँलाई निस्कासन गरिएको छ।’

चार पार्टीको बैठकले समाजवादी केन्द्रका सर्वोच्च नेता युवराज सफललाई संयोजक बनाएको छ भने आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष कृष्ण गोपाल बन्जरा सहसंयोजक बनेका छन्। आम पार्टी नेपालका अध्यक्ष निलकण्ठ पौडेल प्रवक्ता बनेका छन् भने  नेकपा राष्ट्रवादीका अध्यक्ष मिननाथ देवकोटा सचिव बनेका छन्।