नेकपा माओवादीले गुमायो धनुषामा पहिले जितेका दुवै पालिका

  • प्रकाशित मिति : May 19, 2022
  • कान्तिपुर सञ्चार

धनुषामा २०७४ सालको निर्वाचनमा नेकपा माओवादीले मेयरमा जितेका दुवै पालिका गुमाएको छ। अघिल्लो निर्वाचनमा माओवादीले जितेको सहिदनगरमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ भने विदेह नगरपालिकामा नेकपा एमालेले जित निकालेको छ।  अन्तिम मतपरिणाम अनुसार शहिदनगरमा जसपाबाट मेयरका उम्मेदवार दिनेश प्रसाद यादवले ५७४३ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीर गोइत यादवले ४१०५ मत ल्याए।  माओवादीबाट निवर्तमान मेयर उदय कुमार यादवले ४०७० मत ल्याएर तेस्रो स्थानमा पुगेका छन्।  विदेह नगरपालिकामा भने एमालेबाट निवर्तमान मेयर समेत रहेका बेचन दास तत्माले जितेका छन्। ४४१२ मत ल्याएर उनी विजयी भएका हुन्। दासका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राज किशोर रोहिताले ३४२७ मत ल्याए। यसअघि २०७४ सालको स्थानीय तहमा नेकपा माओवादी केन्द्रबाट मेयरमा जितेका दासले नेकपा विभाजनपछि एमाले रोजेका थिए।