नेप्सेमा उच्च अंकको गिरावट, ३८.६१ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७६ करोडमा सीमित

  • प्रकाशित मिति : August 4, 2022
  • कान्तिपुर सञ्चार

नेप्से घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ३८.६१ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक १.७७ प्रतिशतले घटेर २१४८.१६ बिन्दुमा पुगेर बन्द भएको हो।

बिहीबार कारोबारमा आएका २१५ वटा धितोपत्र तथा ऋणपत्रको ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

छोटो समयमा नै बजार राम्ररी नै बढेपछि बजारबाट धमाधम नाफा बुक भइरहेको छ। नाफा बुक लगानीकर्ता सक्रिय भएपछि बजार आज तेस्रो दिनपनि नेप्से घटेको छ। कमाएकाले नाफा बुक गर्न थालेपछि नयाँ लगानीकर्ता पनि ‘पर्ख र हेर’ को अवस्थामा रहेको बुझिन्छ।

बुधबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो।

यस दिन बलेफी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३६२ रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, सामलिङ पावरको सेयर मूल्य ५.३९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६४८ रुपैयाँ ९० पैसामा कारोबार भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर र सानिमा बैंकको ऋणपत्र रहेको छ।

युनाइटेड इदी मादीको सेयर मूल्य ९.९२ र सानिमा बैंकको ऋणपत्रको मूल्य ५.४७ प्रतिशतले घटेर अन्तिम मूल्य क्रमशः ७६९ र ७६० रुपैयाँ कायम भएको छ।

बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको २५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८०५ रुपैयाँ कायम भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ९३० रुपैयाँमा १३ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ५.१३ प्रतिशतले घटेको छ भने दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ३.९ प्रतिशतले घटेको हो।

त्यस्तै, जलविद्युत, विकास बैंक, वित्त, अन्य र लगानी समूहको परिसूचक सर्वाधिक २ प्रतिशतभन्दा बढीले घटेको छ।